• आइतबार, १४ भदौ २०८३
  • images

    एक वर्षमा ३ हजार ब्रेन ट्युमरको शल्यक्रिया

    एक वर्षमा ३ हजार ब्रेन ट्युमरको शल्यक्रिया

    बागमतीमा सबैभन्दा बढी बिरामी

    सोमबार, जेठ २५ २०८३
    सोमबार, जेठ २५ २०८३
    एक वर्षमा ३ हजार ब्रेन ट्युमरको शल्यक्रिया

    काठमाडौँ, २५ जेठ । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको देखिएको छ।

     विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामी तथा शल्यक्रियाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखाएको छ।

    नेपालभर सञ्चालनमा रहेका २० भन्दा बढी न्यूरोसेवा केन्द्रबाट सङ्कलन गरिएको अध्ययनका आधारमा तथ्याङ्क सार्वजनिक गरिएको हो। 

    राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरोसर्जन डा राजीव झाका अनुसार आर्थिक वर्ष २०८२ मा देशभर करिब ३ हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको छ। अघिल्लो वर्ष २०८१ मा यस्तो शल्यक्रियाको सङ्ख्या २ हजार ६०० रहेको थियो।

    सार्वजनिक तथ्याङ्कअनुसार शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको सङ्ख्या महिलाको तुलनामा केही बढी रहेको छ। 

    शल्यक्रिया गरिएका बिरामीमध्ये १ हजार ५०२ जना पुरुष र १ हजार ४९८ जना महिला रहेका छन्। उमेर समूहका आधारमा हेर्दा ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरूमा ब्रेन ट्युमरको समस्या सबैभन्दा बढी देखिएको छ।

    प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी, कुल ३६.४ प्रतिशत ब्रेन ट्युमर शल्यक्रिया गरिएको छ। यसले राजधानी केन्द्रित विशेषज्ञ स्वास्थ्य सेवामा बिरामीको पहुँच र चाप दुवै उच्च रहेको संकेत गर्दछ।

    डा. झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको बताउँदै प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सकिए धेरै बिरामीको ज्यान जोगाउन सकिने बताउनुभयो।

     उहाँका अनुसार पहिलो र दोस्रो चरणका अधिकांश ब्रेन ट्युमर शल्यक्रियामार्फत प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ। तेस्रो र चौथो चरणमा पुगेका बिरामीको उपचारका लागि शल्यक्रियासँगै रेडियोथेरापी, किमोथेरापी तथा अन्य आधुनिक उपचार पद्धतिको समेत आवश्यकता पर्छ।

    नेपालमा विभिन्न प्रकारका ब्रेन ट्युमरमध्ये ‘ग्लियोमा’ सबैभन्दा बढी देखिने गरेको छ। तथ्याङ्कअनुसार २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ। त्यस्तै ‘मेनिन्जियोमा’को अनुपात ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेको देखिएको छ।

    विशेषज्ञहरूका अनुसार लगातार टाउको दुखिरहनु, बिहान उठ्नेबित्तिकै वान्ता हुनु, सुनाइमा समस्या देखिनु, छारे रोग (मिर्गी) का लक्षण देखा पर्नु, शरीरका कुनै भागमा कमजोरी वा पक्षघात (प्यारालाइसिस) हुनुजस्ता लक्षण ब्रेन ट्युमरका संकेत हुन सक्छन्। यस्ता लक्षण देखिएमा तत्काल विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।

    यसैबीच, वीर अस्पतालले विगत दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ। ड.। झाका अनुसार उक्त सेवा आगामी जुन महिनासम्म निरन्तर सञ्चालन हुनेछ।

    यस वर्ष विश्व ब्रेन ट्युमर दिवस ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ मनाइँदै छ। विशेषज्ञहरूले रोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिलाई ब्रेन ट्युमरबाट हुने जटिलता र मृत्यु दर घटाउने प्रमुख उपायका रूपमा औँल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार