• सोमबार, १५ भदौ २०८३
  • images

    बालबालिकाको क्यान्सरको उपचार गर्न भक्तपुर क्यान्सर र कान्तिबाल अस्पतालबिच सम्झौता 

    बालबालिकाको क्यान्सरको उपचार गर्न भक्तपुर क्यान्सर र कान्तिबाल अस्पतालबिच सम्झौता 

    सोमबार, चैत २ २०८२
    सोमबार, चैत २ २०८२
    बालबालिकाको क्यान्सरको उपचार गर्न भक्तपुर क्यान्सर र कान्तिबाल अस्पतालबिच सम्झौता 

    काठमाडौँ, चैत २ गते । बालबालिकामा देखिने क्यान्सर रोगको उपचारलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले भक्तपुर क्यान्सर र कान्तिबाल अस्पतालबिच  समझदारी भएको छ। 

    दुवै अस्पतालका प्रमुखबीच भएको समझदारीपछि अब क्यान्सरबाट पीडित बालबालिकालाई सरकारी स्वास्थ्य प्रणालीभित्रै एकीकृत तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    दुवै अस्पतालका कार्यकारी निर्देशकबीच भएको सम्झौताअनुसार अब बाल क्यान्सर उपचारका लागि आवश्यक चिकित्सकीय सेवा, उपकरण, प्रविधि तथा विशेषज्ञताको आदानप्रदान गरिनेछ। सहकार्यको मुख्य उद्देश्य बालबालिकामा देखिने क्यान्सर रोगको पहिचान, उपचार र व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नु रहेको छ।

    भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेले सम्झौताअनुसार दुवै अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आपसी समन्वयमा बिरामीको उपचार योजना तयार गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार कुनै एक अस्पतालमा उपलब्ध नभएको सेवा वा उपकरण अर्को अस्पतालमार्फत उपलब्ध गराइनेछ। यसले विशेषगरी जटिल क्यान्सर रोगबाट पीडित बालबालिकाको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    समझदारीअनुसार हाल कान्ति बाल अस्पतालमा पूर्ण रूपमा उपलब्ध नभएका केही जटिल र अत्याधुनिक सेवा अब भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा उपलब्ध गराइनेछ। भक्तपुर क्यान्सर अस्पतालले विकिरण उपचार सेवा, उन्नत प्रविधिमार्फत हुने विकिरण उपचार, रोग पहिचानका लागि गरिने विशेष परीक्षण, रक्तकोष विश्लेषण परीक्षण, शल्यक्रियाका क्रममा गरिने तुरुन्तै परीक्षण तथा पेटको क्यान्सरमा प्रयोग हुने विशेष प्रकारको शल्यक्रिया लगायतका सेवा उपलब्ध गराउनेछ।

    यसका अतिरिक्त चिकित्सकहरूको सेवा आदानप्रदान, उपचारसम्बन्धी अनुभव साटासाट तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम सञ्चालन गर्ने विषय पनि समझदारीमा समेटिएको छ। यसले बाल क्यान्सर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको दक्षता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    डा। चालिसेले अस्पतालले निकट भविष्यमा अझ उन्नत उपचार सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार शरीरभित्रको क्यान्सर पत्ता लगाउने विशेष परीक्षण सेवा र अस्थिमज्जा प्रत्यारोपणजस्ता उच्च विशिष्टीकृत सेवा पनि दुवै अस्पतालको सहकार्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस्ता सेवा उपलब्ध भएमा जटिल क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ।

    सहकार्यपछि १४ वर्षमुनिका क्यान्सर पीडित बालबालिकालाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसले विशेषगरी विपन्न तथा स्वास्थ्य सेवामा पहुँच कम भएका परिवारका बालबालिकालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। साथै बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि आवश्यक उपचार सेवा लिन सक्ने व्यवस्था मिलाइने बताइएको छ।

    समझदारीपत्रमा कान्ति बाल अस्पतालका निर्देशक डा। पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। उज्वल चालिसेले हस्ताक्षर गर्नुभएको छ। दुवै अस्पतालबीचको सहकार्यले नेपालमा बालबालिकाको क्यान्सर उपचार सेवालाई अझ सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार