सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसी
काठमाडौं, २८ साउन । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त हुनुभएको छ।
वीर अस्पतालमा ११औँ तहमा कार्यरत डा. नेपाललाई अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको हो।
डा. नेपाल ग्यास्ट्रोसर्जन हुनुहुन्छ।
त्यस्तै, वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसी नियुक्त हुनुभएको छ। उहाँहरूले अस्पतालको प्रशासनिक तथा सेवा व्यवस्थापनमा निर्देशकलाई सहयोग गर्नुहुनेछ।
नवनियुक्त निर्देशक डा. नेपालसहित सहायक निर्देशकद्वयले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुहुने अपेक्षा गरिएको छ।
मुलुककै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको वीर अस्पतालमा दैनिक ठूलो सङ्ख्यामा बिरामीले उपचार सेवा लिँदै आएका छन्। अस्पतालको सेवा व्यवस्थापन, बिरामीको उपचारमा सहजता तथा प्रशासनिक सुधार नयाँ नेतृत्वका लागि प्रमुख जिम्मेवारीका रूपमा रहनेछ।