काठमाडौं, १४ भदौ । भोटेकोशी बाढीपछि सङ्कलन गरिएका शवको सुरक्षित संरक्षण र पहिचानका लागि आवश्यक फ्रिजर तथा डीएनए परीक्षण किटको अभाव देखिएको छ। शव कुहिने प्रक्रिया सुरु भइसकेपछि सरकारले कम्तीमा एक हजार शव राख्न सकिने क्षमताको फ्रिजर र पर्याप्त डीएनए परीक्षण सामग्रीका लागि विभिन्न देश तथा निकायसँग सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा शव व्यवस्थापन र पहिचानका लागि फ्रिजर तथा डीएनए परीक्षण किट तत्काल आवश्यक रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार बाढीपछि ठूलो सङ्ख्यामा शव सङ्कलन भइसकेका छन्। तीमध्ये केही शव कुहिने अवस्थामा पुगिसकेकाले सुरक्षित संरक्षणका साथै मृतकको पहिचान गर्नु चुनौतीपूर्ण बनेको छ।
“शवहरू धेरै सङ्ख्यामा सङ्कलन गरिसकिएको छ र कुहिने प्रक्रिया सुरु भइसकेको छ। जनस्वास्थ्यको सुरक्षा र शव सुरक्षित राख्न अहिले फ्रिजर तथा डीएनए परीक्षण किटको आवश्यकता छ,” सचिव राईले भन्नुभयो।
शव सुरक्षित राख्न पर्याप्त क्षमताको शीतभण्डारण सुविधा तत्काल उपलब्ध हुन नसकेपछि सरकारले कम्तीमा एक हजार शव राख्न सकिने क्षमताको फ्रिजर जुटाउन पहल गरेको हो। त्यसका लागि अस्ट्रेलिया, खाडी मुलुक तथा युरोपेली सङ्घलगायत विभिन्न देश र निकायसँग सहयोगका लागि आग्रह गरिएको सचिव राईले जानकारी दिनुभयो।
शवको पहिचानका लागि पनि आवश्यक डीएनए परीक्षण सामग्रीको अभाव रहेको छ। पहिचान हुन नसकेका, क्षतविक्षत अवस्थामा रहेका तथा कुहिने प्रक्रिया सुरु भएका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसका मापदण्डअनुसार डीएनए नमुना सङ्कलन गर्ने व्यवस्था मिलाइएको सचिव राईले बताउनुभयो।
सङ्कलन गरिएका डीएनए नमुना सुरक्षित राखिने भएकाले तत्काल पहिचान हुन नसके पनि भविष्यमा परिवारजनबाट प्राप्त हुने नमुनासँग परीक्षण गरी मृतकको पहिचान गर्न सकिने उहाँले जानकारी दिनुभयो। पहिचान खुलेपछि सम्बन्धित परिवारको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार अन्तिम संस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउन सकिनेछ।
शव व्यवस्थापनका लागि सरकारले यसअघि दुई हजारवटा एयरटाइट ब्याग प्राप्त गरिसकेको पनि सचिव राईले जानकारी दिनुभयो। ती सामग्री शवको सुरक्षित व्यवस्थापनमा प्रयोग भइरहेका छन्।
शव व्यवस्थापनसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ। सचिव राईका अनुसार खोज, उद्धार तथा राहतका लागि करिब १९ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने १६ वटा हेलिकोप्टर प्रयोग भइरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार तथा खोज कार्यमा सहयोग पुर्याउन भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धारसम्बन्धी विज्ञसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।
सरकारले बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतसँगै मृतकको सुरक्षित व्यवस्थापन तथा पहिचानलाई प्राथमिकतामा राखेको जनाएको छ। शवको सम्मानजनक व्यवस्थापन, वैज्ञानिक पहिचान र परिवारजनलाई हस्तान्तरणका लागि आवश्यक स्रोतसाधन जुटाउने कार्य भइरहेको जनाइएको छ।