• आइतबार, १४ भदौ २०८३
  • images

    बाढीपछि ट्रमा सेन्टर ‘हाइ अलर्ट’मा, तीन घाइतेको उपचार हुँदै 

    बाढीपछि ट्रमा सेन्टर ‘हाइ अलर्ट’मा, तीन घाइतेको उपचार हुँदै 

    बुधबार, भदौ १० २०८३
    बुधबार, भदौ १० २०८३
    बाढीपछि ट्रमा सेन्टर ‘हाइ अलर्ट’मा, तीन घाइतेको उपचार हुँदै 

    काठमाडौं, १० भदौ । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण प्रभावित भएका क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका तीन जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    बाढीबाट प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा प्राथमिक उपचार गरिएपछि थप उपचार आवश्यक देखिएका घाइतेलाई काठमाडौं ल्याइएको हो। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

    राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकबाट थप उपचार भइरहेको छ। आकस्मिक कक्षमा उपचाररत घाइतेमध्ये आवश्यक देखिएकालाई शल्यक्रियासहित विशेषज्ञ सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

    भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ट्रमा सेन्टरले विपद्को सम्भावित अवस्थाका लागि पूर्वतयारीसमेत गरेको थियो। अस्पतालले आकस्मिक उपचार सेवा, विशेषज्ञ चिकित्सक, शल्यक्रिया कक्ष तथा सघन उपचार कक्षलाई उच्च सतर्कतामा राखेको जनाएको छ।

    बाढी तथा पहिरोजस्ता विपद्का घटनाबाट घाइते हुनेको संख्या बढ्न सक्ने भएकाले आवश्यक जनशक्ति तथा उपचारका लागि चाहिने स्वास्थ्य पूर्वाधारलाई तयारी अवस्थामा राखिएको अस्पताल प्रशासनले जनाएको छ।

    प्रभावित क्षेत्रबाट थप घाइतेलाई काठमाडौं ल्याउनुपर्ने अवस्था आएमा तत्काल उपचार सेवा उपलब्ध गराउन अस्पतालले आकस्मिक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। गम्भीर प्रकृतिका घाइतेलाई प्राथमिकताका आधारमा उपचार गर्ने तथा आवश्यकताअनुसार विभिन्न विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

    यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले घाइते तथा बिरामीलाई आवश्यकताअनुसार नजिकका स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याउने क्रम बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार