• आइतबार, १४ भदौ २०८३
  • images

    विपद् स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन परिचालन

    विपद् स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन परिचालन

    शुक्रबार, भदौ १२ २०८३
    शुक्रबार, भदौ १२ २०८३
    विपद् स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन परिचालन

    काठमाडौँ, १२ भदौ । विपद्का समयमा स्वास्थ्य सेवा तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न तह र विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।

    मन्त्रालयले स्वास्थ्य आपत्कालीन अवस्थाको समग्र समन्वयको जिम्मेवारी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) का प्रमुख डा. हेमन्तचन्द्र ओझालाई दिएको छ। आपत्कालीन मेडिकल टोली तथा आवश्यक जनशक्ति परिचालनका लागि एचईओसीसँगको समन्वयमा डा. रोशन न्यौपानेलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

    विपद्का समयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य सेवासम्बन्धी समन्वय प्रभावकारी बनाउन स्वास्थ्य सेवा विभागका डा. फणिन्द्रप्रसाद बराल र मन्त्रालयका डा. समीरकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ।

    त्यसैगरी, विपद् प्रभावित क्षेत्रमा सङ्घीय स्वास्थ्य टोली परिचालन तथा आवश्यक स्वास्थ्य सेवा व्यवस्थापनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी तोकिएको छ।

    विपद्का कारण संक्रामक रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै निगरानी, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको छ।

    मन्त्रालयले विपद्का समयमा आवश्यक स्वास्थ्य सहयोगलाई एकीकृत र व्यवस्थित बनाउन ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमार्फत उपचार, औषधि तथा अन्य स्वास्थ्य सेवाका लागि आवश्यक सहयोग माग गर्न सकिने व्यवस्था गरिएको छ।

    स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले आवश्यकताअनुसार मेडिकल टोली, औषधि, उपकरण र अन्य स्वास्थ्य सामग्री सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था प्रणालीमा गरिएको मन्त्रालयले जनाएको छ।

    विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता र उपलब्ध स्रोतसाधनबीच समन्वय कायम गरी तत्काल आवश्यक सहयोग परिचालन गर्न प्रणाली उपयोगी हुने मन्त्रालयको अपेक्षा छ।

    स्वास्थ्यसम्बन्धी सहयोग तथा समन्वयका लागि https://help.mohp.gov.np/ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। साथै, विपद्का समयमा आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा निकायलाई तत्काल सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ।

    मन्त्रालयका अनुसार स्वास्थ्य आपत्कालीन समग्र समन्वयका लागि डा. हेमन्तचन्द्र ओझा (९८४९३६१५९३), आपत्कालीन मेडिकल टोली तथा जनशक्ति परिचालनका लागि डा. रोशन न्यौपाने (९८५७६४०६२५) र प्रदेशस्तरीय समन्वयका लागि डा. फणिन्द्रप्रसाद बराल (९८४१२४०५८७) लाई सम्पर्क गर्न सकिनेछ।

    मन्त्रालयस्तरीय समन्वयका लागि डा. समीरकुमार अधिकारी (९८५१०५४६९९), रसुवाका लागि डा. प्रकाश ज्ञवाली (९८४१२५८२३३) र शंकर कँडेल (९८५१२०४१८१), नुवाकोटका लागि डा. प्रशान्त नापित (९८४९०८६२७१) र प्रवीण कार्की (९८६०१२८२४७) तथा महामारी निगरानी र प्रतिकार्यका लागि डा. अमृत पोखरेल (९८४१०४३७३३) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार