काठमाडौँ, ९ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केही वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्री निशा मेहताले ५ भदौमा गरेको निर्णय अनुसार मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखादेखि राष्ट्रिय क्षयरोग केन्द्रको नेतृत्वसम्म परिवर्तन भएको हो।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी डा. विवेककुमार लालले पाउनुभएको छ ।
केही समयदेखि जिम्मेवारीविहीन लाललाइ मन्त्रालयको महत्वपूर्ण महाशाखाको नेतृत्व दिइएको हो।
यसअघि उक्त महाशाखाको नेतृत्व गर्दै आएका डा. गुणनीधि शर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक बनाइएको छ। भक्तपुरस्थित केन्द्रको नेतृत्व सम्हाल्ने गरी शर्माको जिम्मेवारी परिवर्तन गरिएको हो।
केन्द्रका यसअघिका निर्देशक डा. भुवन पौडेललाई भने मन्त्रालयमा ल्याइएको छ। उहाँको नयाँ जिम्मेवारी भने मन्त्रालयले आगामी कार्यविभाजनसँगै तोक्ने तयारी गरिएको छ ।
मन्त्रालयमा भएको पछिल्लो जिम्मेवारी हेरफेरसँगै अब अन्य महाशाखा तथा मातहतका निकायमा पनि नेतृत्व परिवर्तन हुने सम्भावना बढेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री मेहताले मन्त्रालय र स्वास्थ्य विभागअन्तर्गतका विभिन्न महाशाखाको नेतृत्वमा समेत फेरबदल गर्ने तयारी गर्नुभएको छ ।
विशेषगरी लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका केही अधिकारीको कार्यक्षेत्र परिवर्तन गर्ने विषयमा मन्त्रीस्तरमा छलफल भइरहेको छ।