भक्तपुर, १० भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रमा धनुषाका ५८ वर्षीय सुरेन्द्र साहको कलेजो प्रत्यारोपण गरिएको हो।

कलेजोसम्बन्धी समस्याबाट पीडित साहलाई उहाँकी ३४ वर्षीया श्रीमती कृष्णदेवी साहले आफ्नो कलेजोको आधा भाग दान गर्नुभएको थियो। प्रत्यारोपणपछि दाता कृष्णदेवी साहलाई ११औँ दिनमा तथा कलेजो ग्रहणकर्ता सुरेन्द्र साहलाई १२औँ दिनमा स्वास्थ्य अवस्था सन्तोषजनक भएपछि अस्पतालबाट घर पठाइएको केन्द्रले जनाएको छ।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहको नेतृत्वमा उक्त प्रत्यारोपण सम्पन्न भएको हो। प्रत्यारोपण कार्यमा शल्यचिकित्सा, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोनोलोजी, नर्सिङ, फार्मेसी, पोषण तथा फिजियोथेरापीलगायत विभिन्न विधाका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको केन्द्रले जनाएको छ।
प्रत्यारोपण कार्यमा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादवलगायत चिकित्सकको सहभागिता रहेको थियो। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ विभागीय प्रमुख डा. आरती राईसहित डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सन्देश खाउजु र डा. रिती फुँयालको सहभागिता रहेको थियो।
त्यसैगरी रेडियोलोजी विभागका प्रमुख डा. कृष्ण बुढाथोकीसहित डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जी एलीन र इन्दु मिमिरे तथा कार्डियोलोजी विभागका प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछानेले उपचार तथा प्रत्यारोपणसम्बन्धी सेवामा योगदान गर्नुभएको थियो।
प्याथोलोजी विभागका प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे र प्रयोगशाला इन्चार्ज विन्दिरा जोशीसहितको टोलीले आवश्यक प्रयोगशाला तथा प्याथोलोजी सेवा उपलब्ध गराएको थियो। ग्यास्ट्रोइन्टरोलोजी विभागका प्रमुख डा. कर्णराजवंशी र डा. शेखर पौड्याल तथा पल्मोनोलोजीतर्फ डा. राजेशकिशोर यादवको समेत प्रत्यारोपण प्रक्रियामा सहभागिता रहेको केन्द्रले जनाएको छ।
नर्सिङ सेवातर्फ निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा नर्सिङ इन्चार्ज तथा नर्सहरूको सहभागिता रहेको थियो। शल्यक्रिया कक्ष व्यवस्थापनको जिम्मेवारी अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेशराम कोजुसहितको टोलीले निर्वाह गरेको थियो।
त्यसैगरी बिरामीको पोषण तथा शारीरिक पुनःस्थापनाका लागि डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिस्ट शोनी शिख्वालको प्रत्यक्ष सहभागिता रहेको थियो। फार्मेसी सेवातर्फ सजन खाइतु र दीपा केसीसहितको टोलीले आवश्यक औषधि व्यवस्थापनमा सहयोग गरेको थियो।
प्रत्यारोपणसम्बन्धी व्यवस्थापकीय कार्यको जिम्मेवारी प्रशासन प्रमुख रामप्रसाद आचार्यको नेतृत्वमा रहेको टोलीले निर्वाह गरेको थियो। प्रत्यारोपण समन्वयतर्फ डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु र पूजा खड्कालगायतको सहभागिता रहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार स्थापना भएको करिब १५ वर्षको अवधिमा हालसम्म एक हजार ६७९ जनाको मिर्गौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ। पर्याप्त जग्गा तथा आफ्नै भवनको अभाव रहे पनि केन्द्रले अंग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ सेवा निरन्तर प्रदान गर्दै आएको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले सीमित भौतिक पूर्वाधारका बीच पनि केन्द्रले अंग प्रत्यारोपणका क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँका अनुसार नेपालमा हुने अंग प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण यस केन्द्रबाट हुने गरेको छ।
केन्द्रले पछिल्लो कलेजो प्रत्यारोपण सफलतासँगै नेपालमै जटिल प्रकृतिका अंग प्रत्यारोपण सेवा विस्तार गर्न आफ्नो क्षमता थप सुदृढ हुँदै गएको जनाएको छ। प्रत्यारोपण गरिएका साह र कलेजो दान गर्नुभएकी कृष्णदेवी दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको केन्द्रले जनाएको छ ।