काठमाडौँ, ८ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रशासनतर्फका दुई सहसचिवको सरुवा भएको छ। गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले २७ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेसँगै स्वास्थ्य मन्त्रालयमा कार्यरत दुई सहसचिवको पनि सरुवा भएको हो।
स्वास्थ्य मन्त्रालयमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कार्यरत सहसचिव सञ्जीवकुमार कर्ण सरुवा भएर आउनुभएको छ। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव हुमकला पाण्डे पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएको छ।
स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि कार्यरत प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सहसचिव दिवस आचार्य कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी काजमा खटिनुभएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयमा कार्यरत अर्का सहसचिव गोविन्दप्रसाद अधिकारी लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सोअन्तर्गत रहने गरी सरुवा गरिएको छ।
यससँगै स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको नेतृत्व तथा जिम्मेवारीमा समेत परिवर्तन भएको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायका २७ जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो ।