• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    नेशनल चेस्ट सेन्टरद्वारा नेपालमै पहिलो पटक  पल्मोनरी रिह्याबिलिटेसन सेवा सुरु 

    नेशनल चेस्ट सेन्टरद्वारा नेपालमै पहिलो पटक  पल्मोनरी रिह्याबिलिटेसन सेवा सुरु 

    दमका बिरामीलाई सहज जीवनयापनमा सहयोग पुग्ने

    बिहीबार , मंसिर ३ २०८३
    बिहीबार , मंसिर ३ २०८३
    नेशनल चेस्ट सेन्टरद्वारा नेपालमै पहिलो पटक  पल्मोनरी रिह्याबिलिटेसन सेवा सुरु 

    काठमाडौँ, ३ मङ्सिर । दम (सीओपीडी) तथा अन्य श्वासप्रश्वाससम्बन्धी दीर्घरोगबाट पीडित बिरामीको जीवनस्तर सुधार गर्ने उद्देश्यले नेशनल चेस्ट सेन्टरले नेपालमै पहिलोपटक पल्मोनरी रिह्याबिलिटेसन (फोक्सो पुनर्स्थापना) सेवा सञ्चालनमा ल्याएको छ ।

    सेन्टरले औषधि  कम्पनी सिप्लासंगको सहकार्यमा उक्त सेवाको सुरुवात गरेको हो ।

    IMG-20261119-WA0263.jpg

    दमका कारण हिँडडुल गर्न, सामान्य काम गर्न तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भोगिरहेका बिरामीलाई शारीरिक रूपमा सक्रिय बनाउने, श्वासप्रश्वास क्षमता बढाउने र अस्पताल धाउनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

    pulmonary Lama standee nepal1.jpg

    सेन्टरले सञ्चालनमा ल्याएको यो सेवाअन्तर्गत बिरामीको स्वास्थ्य अवस्था र फोक्सोको क्षमताको मूल्याङ्कन गरी आवश्यक व्यायाम, श्वासप्रश्वास अभ्यास तथा फिजियोथेरापी गराइनेछ । विशेषगरी लामो समयदेखि दमको समस्या भोगिरहेका, उमेर बढी भएका तथा अक्सिजनमा निर्भर बिरामीलाई यसबाट लाभ पुग्ने छ ।

    छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार दम रोग भएका व्यक्तिले सास फेर्न गाह्रो हुने डरले हिँडडुल र शारीरिक गतिविधि कम गर्दै जाँदा फोक्सोको कार्यक्षमता झन् घट्दै जान्छ ।उहाँले यस्तो अवस्थालाई सुधार गर्न पल्मोनरी रिह्याबिलिटेसन महत्त्वपूर्ण हुने बताउनुभयो ।

    IMG-20261119-WA0250.jpg

    उहाँले दम रोग लाग्दैमा जीवनभर दुःख पाइरहनुपर्ने वा सामान्य जीवनयापन गर्न नसकिने भन्ने सोच्न नहुने बताउनुभयो । उचित परामर्श, नियमित औषधि सेवन, इनहेलरको सही प्रयोग र जीवनशैली व्यवस्थापनसँगै पल्मोनरी रिह्याबिलिटेसन गर्न सके धेरैजसो बिरामीले रोग नियन्त्रणमा राख्दै सामान्य जीवन बिताउन सक्ने उहाँको भनाइ छ ।

    दमका बिरामीले सास फेर्न गाह्रो हुने डरले घरमै बस्ने र हिँडडुल नगर्ने बानी विकास गर्छन् । तर, जति कम सक्रिय भयो, त्यति नै फोक्सोको क्षमता घट्दै जान्छ ।
    डा. पङ्गेनीले रिह्याबिलिटेसनको मुख्य उद्देश्य औषधि सेवन गरिरहँदा पनि बिरामीले आफ्नो दैनिक काम आफैँ गर्न सक्ने बनाउनु हो भन्नुभयो ।

    उहाँका अनुसार पल्मोनरी रिह्याबिलिटेसन व्यायाम मात्रै नभएर दमका बिरामीलाई आवश्यक पर्ने समग्र उपचार तथा परामर्शको एउटा पद्धति हो । यसमा औषधिको सही प्रयोग,  पोषण, मानसिक स्वास्थ्य, अन्य रोगको व्यवस्थापन र शारीरिक व्यायामलाई एकीकृत रूपमा समेटिन्छ ।

    सेन्टरकी फिजियोथेरापिस्ट डा. दीक्षा गौतमका अनुसार पल्मोनरी रिह्याबिलिटेसन वैज्ञानिक प्रमाणमा आधारित उपचार पद्धति हो । यसले फोक्सोको कार्यक्षमता र शारीरिक सहनशीलता बढाउनुका साथै सास फेर्न गाह्रो हुने समस्या कम गर्न सहयोग पुर्‍याउँछ ।

    उहाँका अनुसार बिरामीको स्वास्थ्य अवस्था, शारीरिक क्षमता र फोक्सोको कार्यक्षमता हेरेर मात्रै व्यायाम तथा फिजियोथेरापीको योजना बनाइन्छ । सुरुमा बिरामीको रक्तचाप, नाडीको गति, अक्सिजनको मात्रा लगायतका स्वास्थ्य सूचक जाँच गरी श्वासप्रश्वाससम्बन्धी अभ्यासबाट उपचार सुरु गरिन्छ ।

    यस क्रममा छाती फैलाउने अभ्यास, शारीरिक व्यायाम तथा खकार निकाल्न सहयोग गर्ने विभिन्न प्रविधि प्रयोग गरिन्छ । आफैँ खकार निकाल्न नसक्ने बिरामीलाई पर्कसन र भाइब्रेसनजस्ता प्रविधिबाट सहयोग गरिन्छ भने सक्ने बिरामीलाई सक्रिय श्वासप्रश्वास चक्रसम्बन्धी अभ्यास गराइन्छ ।

    डा. गौतमका अनुसार यो सेवा लिन बिरामी सधैँ अस्पतालमै आउनुपर्ने बाध्यता छैन । सुरुमा फिजियोथेरापिस्टबाट अभ्यास गर्ने तरिका सिकेपछि आवश्यक निर्देशनअनुसार घरमै बसेर पनि नियमित अभ्यास गर्न सकिन्छ । यसका लागि धेरै उपकरण आवश्यक नपर्ने उहाँले बताउनुभयो ।
    उहाँले सेन्टरले हाल यो सेवा निःशुल्क रूपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 
    उहाँले सेवा लिएका बिरामीमध्ये ३० जनाको समूहमा करिब १० देखि २० प्रतिशत बिरामी पुनः सम्पर्कमा आएर अभ्यासलाई निरन्तरता दिन तथा थप अभ्यास सिक्न इच्छुक देखिएको  बताउनुभयो ।

    स्वासप्रस्वास रोग विशेषज्ञ डा. पंकज देवले दमका बिरामीका लागि मात्रै नभएर अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि पनि यो अभ्यास उपयोगी हुने बताउनुभयो । यद्यपि बिरामीको अवस्थाअनुसार अभ्यासको मात्रा र तरिका निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ ।

    डा. देवले नेपालमा दम रोगको अवस्था बढ्दो क्रममा रहेको बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको सर्वेक्षणअनुसार नेपालमा करिब १३ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी समस्या रहेको छ । उक्त सर्वेक्षणमा कर्णाली प्रदेशमा दमको समस्या सबैभन्दा बढी अर्थात् करिब २५ प्रतिशत देखिएको थियो ।

    उहाँका अनुसार धूम्रपान, वायु प्रदूषण, बाल्यकालमा हुने बारम्बारका श्वासप्रश्वास सङ्क्रमण र एलर्जी दमका प्रमुख जोखिम हुन् । लामो समयसम्म खोकी लाग्ने, हिँड्दा वा उकालो चढ्दा स्याँस्याँ हुने, खकार आउने र उमेर समूहका व्यक्तिको तुलनामा शारीरिक गतिविधिमा सुस्त हुनेजस्ता लक्षण देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

    सेन्टरका अध्यक्ष मधु घिमिरेका अनुसार नेपालमा दम तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीको उपचारमा औषधि सेवनसँगै पुनर्स्थापना सेवालाई पनि प्राथमिकता दिन आवश्यक छ ।उहाँले पल्मोनरी रिह्याबिलिटेसन सेवा सुरु गर्नुको उद्देश्य बिरामीलाई औषधिमा मात्र निर्भर नराखी शारीरिक रूपमा सक्रिय, आत्मनिर्भर र सहज जीवनयापन गर्न सक्षम बनाउनु रहेको बताउनुभयो ।

    उहाँका अनुसार हाल सेन्टरले सेवा निःशुल्क रूपमा उपलब्ध गराइरहेको छ । उहाँले आगामी दिनमा पनि सेवालाई निरन्तरता दिँदै थप बिरामीसम्म पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार