• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    स्वास्थ्यपछि अटोमोबाइल क्षेत्रमा ह्याम्स ग्रुपको लगानी

    स्वास्थ्यपछि अटोमोबाइल क्षेत्रमा ह्याम्स ग्रुपको लगानी

    मंगलबार, मंसिर १ २०८३
    मंगलबार, मंसिर १ २०८३
    स्वास्थ्यपछि अटोमोबाइल क्षेत्रमा ह्याम्स ग्रुपको लगानी

    काठमाडौं, १ मंसिर । स्वास्थ्य क्षेत्रमा ह्याम्स अस्पतालमार्फत परिचित ह्याम्स ग्रुपले आफ्नो व्यावसायिक लगानी अटोमोबाइल क्षेत्रमा विस्तार गरेको छ। 
    ग्रुपले अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड क्यूजे मोटर्सलाई नेपाली बजारमा भित्र्याउँदै अटोमोबाइल व्यवसाय सुरु गरेको हो।

    क्यूजे मोटर्सको नेपाली बजारमा औपचारिक प्रवेशसँगै पूर्वक्रिकेटर पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ। काठमाडौंमा आयोजित ब्रान्ड सार्वजनिक तथा ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीले खड्कालाई ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गर्नुभयो।

    कार्यक्रममा अध्यक्ष भण्डारीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय तथा प्रिमियम विशेषतायुक्त मोटरसाइकल प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने उद्देश्यले क्यूजे मोटर्ससँग सहकार्य गरिएको बताउनुभयो।

    उहाँका अनुसार कम्पनीले नेपाली बजारमा मोटरसाइकल बिक्रीका लागि पठाइसकेको छ। प्रारम्भिक ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै उहाँले स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य र गुणस्तरलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।

    नवनियुक्त ब्रान्ड एम्बेसडर खड्काले नेपाली निजी क्षेत्रको लगानी खेलकुदसँगै अन्य क्षेत्रमा पनि विस्तार हुँदै जानु सकारात्मक भएको बताउनुभयो। ह्याम्स ग्रुपले खेलकुदमा संस्थागत रूपमा लगानी गरिरहेको उल्लेख गर्दै उहाँले यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    ह्याम्स ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग साझेदारीसमेत गरेको छ। क्रिकेटमा निजी क्षेत्रको संस्थागत लगानी बढ्दै जाँदा खेलकुदलाई व्यवस्थित र व्यावसायिक उद्योगका रूपमा विकास गर्न सहयोग पुग्ने खड्काको भनाइ छ।

    कार्यक्रममा क्यूजे मोटर्सको अन्तर्राष्ट्रिय बजारमा रहेको उपस्थिति र उत्पादनबारे जानकारी गराइएको थियो। कम्पनीले आफ्नै ब्रान्डसँगै बेनेली ब्रान्डका मोटरसाइकलसमेत उत्पादन गर्दै आएको जानकारी दिइयो।

    ह्याम्स ग्रुपको नयाँ अटोमोबाइल व्यवसायको नेतृत्व समीर भण्डारीले गर्नुहुनेछ। उहाँले क्यूजे मोटर्सको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुहुनेछ। उहाँको नेतृत्वमा नेपाली बजारमा अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डको बिक्री तथा बजार विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।

    स्वास्थ्य क्षेत्रबाट व्यावसायिक यात्रा सुरु गरेको ह्याम्स ग्रुपले अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गर्नुलाई आफ्नो व्यवसाय विविधीकरणको नयाँ कदमका रूपमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार