काठमाडौं, ९ भदौ । श्वासनलीमा इमलीको दाना अड्किएर श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका सात वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ।
बाराको कलैयाका बालकलाई श्वास फेर्न कठिन भएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै अन्ततः आइतबार राति अक्सिजनको सहायतामा काठमाडौं ल्याइएको थियो। गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका बालकलाई तत्काल सघन उपचार कक्षमा भर्ना गरी उपचार अघि बढाइएको थियो।
नर्भिकका वरिष्ठ कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा. अच्युतभक्त आचार्यको नेतृत्वमा रहेको चिकित्सक टोलीले सोमबार बिहान ब्रोङ्कोस्कोपीमार्फत बालकको देब्रेतर्फको श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो।
डा. आचार्यका अनुसार इमलीको दाना श्वासनलीमा अड्किएर हावाको प्रवाह अवरुद्ध हुँदा बालकको देब्रे फोक्सोको ठूलो भागले प्रभावकारी रूपमा काम गर्न सकेको थिएन। लामो समयसम्म श्वासनली अवरुद्ध भएपछि फोक्सोमा संक्रमणसमेत देखिएको थियो।
‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रे भागले काम गर्न नसक्ने अवस्थामा पुगेको थियो। एक्सरेमा उक्त भाग सेतो देखिएको थियो,’ डा. आचार्यले भन्नुभयो, ‘बालकलाई हाइफ्लो अक्सिजनको सहयोगमा राखिएको थियो। ब्रोङ्कोस्कोपीमार्फत दाना निकालेपछि उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।’
उहाँका अनुसार श्वासनलीबाट बाह्य वस्तु हटाएपछि फोक्सोमा देखिएको समस्या पनि क्रमशः सुधार हुँदै गएको छ।
बालकका बुबाका अनुसार शुक्रबार साँझसम्म बालकको स्वास्थ्य अवस्था सामान्य थियो। साँझ खाना खाएर सुत्ने तयारीमा रहेका बालकले परिवारका सदस्यसँग सामान्य रूपमा कुराकानीसमेत गरेका थिए। तर, राति करिब साढे १० बजे अचानक अत्यधिक खोकी लागेपछि अवस्था बिग्रिएको थियो।
लगातार खोकेपछि बालकलाई सास फेर्न कठिन भयो। केही समयमै आँखा पल्टाउने र अर्धचेत अवस्थामा पुग्ने अवस्था देखिएपछि परिवारले तत्काल कलैयास्थित सरकारी अस्पताल पुर्याएको थियो।
अस्पतालमा अक्सिजन दिए पनि बालकको अक्सिजनको मात्रा अत्यन्त कम देखिएको थियो। भेन्टिलेटरको आवश्यकता रहेको तर सुविधा उपलब्ध नभएको भन्दै अस्पतालले अर्को स्वास्थ्य संस्थामा लैजान सुझाव दिएको थियो।
त्यसपछि बालकलाई कलैयाकै अर्को निजी अस्पतालमा लगेर भेन्टिलेटरमा राखिएको थियो। उपचारका क्रममा गरिएको छातीको एक्सरेमा देब्रे फोक्सोको भाग सेतो देखिएपछि चिकित्सकहरूले गम्भीर निमोनियाको आशंका गरेका थिए। तर, उपचारपछि पनि अपेक्षित सुधार नभएपछि परिवारले थप उपचारका लागि बालकलाई वीरगञ्जस्थित अर्को अस्पताल पुर्याएको थियो।
वीरगञ्जको अस्पतालमा बालकलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। केही समयपछि बालकले बोल्न सक्ने अवस्था आए पनि फोक्सोमा देखिएको समस्याको वास्तविक कारण भने तत्काल पहिचान हुन सकेन।
फोक्सोको समस्याको कारण पत्ता लगाउन आइतबार सिटीस्क्यान गर्दा मात्र बालकको देब्रे फोक्सोतर्फ जाने श्वासनलीमा बाह्य वस्तु अड्किएको देखिएको थियो। सिटीस्क्यानमा दानाजस्तो वस्तु देखिएपछि चिकित्सकहरूले श्वासनलीमा कुनै वस्तु अड्किएको निष्कर्ष निकालेका थिए।
थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि बालकलाई वीरगञ्जबाट काठमाडौं रेफर गरिएको थियो। अक्सिजनको सहायतामा करिब चार घण्टाको यात्रापछि बालकलाई आइतबार राति नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएको थियो।
अस्पताल पुगेपछि आकस्मिक उपचारसँगै आवश्यक परीक्षण र चिकित्सकीय मूल्याङ्कन गरी तत्काल ब्रोङ्कोस्कोपी गर्ने निर्णय गरिएको थियो। सोमबार बिहान गरिएको प्रक्रियाबाट श्वासनलीमा अड्किएको इमलीको दाना निकालिएपछि बालकको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ।
बालकका बुबाले उपचारपछि छोराको अवस्थामा सुधार आएकोमा राहत महसुस भएको बताउनुभयो। उहाँका अनुसार शुक्रबारदेखि विभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि समस्याको वास्तविक कारण पहिचान भएपछि मात्रै प्रभावकारी उपचार सम्भव भएको हो।
उपचारपछि होसमा आएका बालकले आफूले शुक्रबार दिउँसो इमली खाएको परिवारलाई बताएका थिए। अहिले बालक बोल्न सक्ने अवस्थामा पुगेका छन्। परिवारका अनुसार बालकले आफूलाई छिट्टै घर लैजान आग्रहसमेत गरेका छन्।
चिकित्सकहरूले बालबालिकाले खाने क्रममा साना तथा कडा वस्तु श्वासनलीमा पुग्न सक्ने भएकाले अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। अचानक खोकी लाग्ने, सास फेर्न कठिन हुने, आवाज परिवर्तन हुने वा नीलो हुनेजस्ता लक्षण देखिएमा श्वासनलीमा बाह्य वस्तु अड्किएको हुन सक्ने भएकाले तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने चिकित्सकहरूको सुझाव छ।