काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) समूहको मतगणनामा डा. केदारनरसिंह केसीले सर्वाधिक मत प्राप्त गर्नुभएको छ ।
मतपरिणाम अनुसार पेशागत समूहमा उम्मेदवारी दिनुभएका ३७ जनामध्ये डा. केसीले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको हो ।
उक्त समूहको ३ हजार २१ मतगणना हुँदा डा. केसीले १ हजार ३८३ मत प्राप्त गर्नुभएको हो । उहाँ नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।
डा. केदारनरसिंह केसी चिकित्सा पेसासँगै स्वास्थ्य क्षेत्रको संस्थागत नेतृत्वमा समेत सक्रिय रहनुभएको छ । उहाँले बीस. २०६७ देखि २०६९ सम्म नेपाल चिकित्सक सङ्घको अध्यक्षका रूपमा नेतृत्व गर्नुभएको थियो ।
त्यसैगरी उहाँले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकका रूपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । बीपी स्मृति अस्पतालको अध्यक्ष तथा प्रजातान्त्रिक विचार समाजको अध्यक्षका रूपमा समेत उहाँले जिम्मेवारी सम्हाल्नुभएको छ ।
उहाँका मातापिताको नाममा स्थापित यशोदादेवी भगवानसिंह केसी स्मृति ट्रस्टमार्फत स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्री सहयोग, स्वास्थ्य शिविर र जनचेतनामूलक गतिविधि सञ्चालन हुँदै आएको छ ।
यस्तै प्रा.डा. जगदीशचन्द्र पोखरेलले १ हजार १३१ मत प्राप्त गर्नुभएको छ । डा. केसी र पोखरेलबीचको मतान्तर २५२ रहेको छ ।
त्यसैगरी डा. प्रदीप मिश्रले ७०२, वरिष्ठ अधिवक्ता सीताराम केसीले ६५१, डा. नहकुल केसीले ५८०, केशव निरौलाले ५४५, शिवशंकर रिजाल (जोगिन्दर)ले ५३८ र सीए पदम भट्टराईले ५३० मत प्राप्त गर्नुभएको छ ।
पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने यस समूहको मतगणना जारी रहेको छ ।