काठमाडौँ, २१ असोज। नेपाल चिकित्सक संघको नेतृत्व गरिसक्नुभएका तीन जना पूर्वअध्यक्ष नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न प्रतिस्पर्धामा उत्रिनुभएको छ।
संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठले कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न छुट्टाछुट्टै समूहबाट उम्मेदवारी दिनुभएको हो।
डा. केसी र डा. श्रेष्ठ कांग्रेसको खुलातर्फबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ। कांग्रेसको खुलातर्फ ४५ केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ। दुवै चिकित्सक लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ।
डा. केसी चिकित्सक संघको पूर्वअध्यक्ष हुनुका साथै कांग्रेसभित्र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा पनि सक्रिय रहँदै आउनुभएको छ। कांग्रेसले पछिल्लो समय गठन गरेको स्वास्थ्य समितिको संयोजकको जिम्मेवारीसमेत उहाँलाई दिएको छ। स्वास्थ्य नीति तथा चिकित्सकका पेशागत विषयमा उहाँले पार्टीभित्र आफ्नो भूमिका बढाउँदै आउनुभएको छ।
डा. श्रेष्ठले पनि नेपाल चिकित्सक संघको नेतृत्व सम्हालिसक्नुभएको छ। चिकित्सकका पेशागत अधिकार, स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रका समसामयिक विषयमा उहाँ लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। कांग्रेसको संगठनमा समेत उहाँको सक्रियता रहँदै आएको छ।
संघका अर्का पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा भने मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ। कांग्रेसको १४औँ महाधिवेशनमा पनि उहाँ मधेशी खुलातर्फबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो। त्यस क्रममा उहाँले ८०२ मत प्राप्त गर्नुभएको थियो तर निर्वाचित हुन आवश्यक मत प्राप्त गर्न नसकेपछि उहाँ केन्द्रीय सदस्य बन्न सक्नुभएन।
चिकित्सक संघको नेतृत्वमा रहेर स्वास्थ्यकर्मीका पेशागत मुद्दा उठाउँदै आउनुभएका यी तीनै जना चिकित्सकले पछिल्लो समय पार्टी राजनीतिमा समेत आफ्नो सक्रियता बढाउनुभएको छ।