• शुक्रबार, २३ असोज २०८३
  • images

    काठमाडौँ क्यान्सर सेन्टरले सुरु गर्‍यो कार–टी सेल उपचार

    काठमाडौँ क्यान्सर सेन्टरले सुरु गर्‍यो कार–टी सेल उपचार

    आइतबार, असार २८ २०८३
    आइतबार, असार २८ २०८३
    काठमाडौँ क्यान्सर सेन्टरले सुरु गर्‍यो कार–टी सेल उपचार

    काठमाडौँ, २८ असार । काठमाडौँ क्यान्सर सेन्टरले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक कार–टी सेल थेरापी सेवा सुरु गरेको छ।
     सेन्टरले केही दिनभित्रै रक्तजन्य क्यान्सर भएका दुई जना बिरामीमा यो उपचार सुरु गर्ने तयारी गरेको जनाएको छ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालमै उत्पादन गरिएको कार–टी सेल प्रयोग गरेर उपचार सुरु गर्न लागिएको जानकारी दिनुभयो।
     उहाँका अनुसार सेन्टर फर रिजेनरेटिभ मेडिसिन .सीआरएम) नेपालले उत्पादन गरेको कार–टी सेल पहिलो चरणमा ल्युकेमिया र लिम्फोमा भएका बिरामीमा प्रयोग गरिनेछ।

    उहाँले कार–टी सेल उपचारका लागि विदेश जानुपर्ने नेपाली बिरामीलाई यस सेवाले केही राहत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

    सेन्टरका प्रमुख डा. सिमित सापकोटाका अनुसार सबै क्यान्सरका बिरामीमा यो उपचार गर्न मिल्दैन। आवश्यक परीक्षणपछि उपयुक्त ठहरिएका बिरामीबाट टी सेल निकालेर सीआरएम नेपालको प्रयोगशालामा पठाइन्छ। त्यहाँ ती कोशिकामा विशेष आनुवंशिक परिवर्तन गरी क्यान्सरका कोशिका चिन्न सक्ने बनाइन्छ। त्यसपछि ती कोशिकालाई वृद्धि गरेर पुनः बिरामीको शरीरमा प्रविष्ट गराइन्छ।

    उहाँका अनुसार उपचारपछि देखिन सक्ने जटिलतालाई ध्यानमा राख्दै बिरामीलाई दुईदेखि तीन सातासम्म अस्पतालमै निगरानीमा राखिनेछ।

    कार–टी सेल थेरापी शरीरकै प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरसँग लड्ने उपचार विधि हो। यसमा बिरामीकै टी सेललाई प्रयोगशालामा परिमार्जन गरी क्यान्सरका कोशिका पहिचान गर्ने क्षमता विकास गरिन्छ। यही कारण यसलाई प्रतिरक्षा प्रणालीमा आधारित उपचारका रूपमा लिइन्छ।

    पत्रकार सम्मेलनमा डा. अञ्जनी झाले हाल विश्वका करिब ३५ देशमा कार–टी सेल उपचार उपलब्ध रहेको उल्लेख गर्दै नेपालमा यसको सुरुवात हुनु क्यान्सर उपचारका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले कार–टी सेल उत्पादन गर्ने सीमित मुलुकमध्ये नेपाल पनि एक रहेको दाबी गर्नुभयो।

    उहाँका अनुसार सेवा सञ्चालनका लागि भारत र जर्मनीका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको छ। उपचारका लागि प्रतिविरामी करिब ४५ लाख रुपैयाँ खर्च लाग्नेछ, जुन भारतको तुलनामा कम रहेको उहाँको भनाइ छ।

    यसैबीच सेन्टरले बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारीसमेत अघि बढाएको जनाएको छ। सेवा सञ्चालनमा आएपछि बोन म्यारो तथा रक्तसम्बन्धी जटिल रोगका बिरामीले उपचारका लागि विदेश जानुपर्ने अवस्था कम हुने सेन्टरको अपेक्षा छ।

    सेन्टरले अत्याधुनिक स्टेरियोट्याक्टिक लिन्याक मेसिन पनि जडान गरेको जनाएको छ। यसबाट उच्च सटीकताका साथ रेडियोथेरापी सेवा उपलब्ध गराउन सकिने सेन्टरको दाबी छ।

    सेन्टरका मेडिकल अन्कोलोजिस्ट डा सुवास पण्डितले  क्यान्सरका बिरामीको पीडा व्यवस्थापन र प्यालियाटिभ केयरलाई थप प्रभावकारी बनाउन बेलायतको किङ्स कलेज र जापानका विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो।

    भक्तपुरको ताथलीमा रहेको काठमाडौँ क्यान्सर सेन्टर २०७३ सालदेखि सञ्चालनमा छ। सेन्टरले हाल रेडिएसन अन्कोलोजी, मेडिकल अन्कोलोजी, केमोथेरापी, लक्षित उपचार, प्रतिरक्षा उपचार, क्यान्सर शल्यक्रिया, सिटी स्क्यान, रेडियोलोजी, सघन उपचार कक्ष तथा प्यालियाटिभ केयरलगायतका सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार