• शनिबार, २४ असोज २०८३
  • images

    सर्पदंशका बिरामीको मृत्यु, अस्पतालका निर्देशक मन्त्रालय तानिए

    सर्पदंशका बिरामीको मृत्यु, अस्पतालका निर्देशक मन्त्रालय तानिए

    शुक्रबार, असोज २३ २०८३
    शुक्रबार, असोज २३ २०८३
    सर्पदंशका बिरामीको मृत्यु, अस्पतालका निर्देशक मन्त्रालय तानिए

    जनकपुर २३ असोज । सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनापछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सिंहलाई मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो। उहाँको स्थानमा मन्त्रालयमा कार्यरत दसौँ तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्रजीतकुमार रजकलाई प्रादेशिक अस्पतालमा काजमा खटाइएको छ।

    गत असोज १३ गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका २५ वर्षीय महेश यादव आफैँ स्कुटर चलाएर प्रादेशिक अस्पताल पुग्नुभएको थियो। उपचारका क्रममा अवस्था जटिल बनेपछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने अवस्था आएको थियो। तर, अस्पतालमा आईसीयू शय्या खाली नभएपछि उहाँलाई अन्य अस्पतालमा पठाइएको थियो।

    अन्य दुई अस्पतालमा पुर्‍याउँदा पनि उपचार सम्भव नभएपछि यादवलाई बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो। त्यहाँ पुर्‍याइएपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

    घटनापछि प्रादेशिक अस्पतालको आकस्मिक उपचार व्यवस्थापन, सघन उपचार कक्षको उपलब्धता र सर्पदंशका बिरामीलाई समयमै उपचार उपलब्ध गराउने व्यवस्थामाथि प्रश्न उठेको छ।

    यसैबीच, प्रादेशिक अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सुरुमा सर्पदंशविरुद्धको औषधि एन्टिस्नेक भेनमका १० भाइल दिइएको र अवस्थामा सुधार नभएपछि थप पाँच भाइल उपलब्ध गराइएको जनाएको छ। अस्पतालका अनुसार आईसीयूमा शय्या खाली नभएकाले बिरामीका अभिभावकको अनुरोधमा उहाँलाई अर्को अस्पतालमा पठाइएको थियो।

    सर्पदंशका बिरामीको उपचारमा ढिलाइ हुन नदिन र गम्भीर अवस्थाका बिरामीलाई आवश्यक सघन उपचार सेवा उपलब्ध गराउन अस्पतालको तयारी तथा व्यवस्थापन प्रभावकारी हुनुपर्ने विषय यस घटनापछि पुनः चर्चामा आएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार