• शनिबार, २४ असोज २०८३
  • images

    मस्तिष्क पक्षाघात भएका पाँच विद्यार्थी सम्मानित

    मस्तिष्क पक्षाघात भएका पाँच विद्यार्थी सम्मानित

    शुक्रबार, असोज २३ २०८३
    शुक्रबार, असोज २३ २०८३
    मस्तिष्क पक्षाघात भएका पाँच विद्यार्थी सम्मानित

    काठमाडौँ, २३ असोज । मस्तिष्क पक्षाघात भएका व्यक्तिप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन, उनीहरूको अधिकार सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न माग गर्दै काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सचेतना र्‍याली आयोजना गरिएको छ।

    विश्व मस्तिष्क पक्षाघात दिवसको अवसरमा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले आयोजना गरेको कार्यक्रममा मस्तिष्क पक्षाघात भएका बालबालिका तथा वयस्कको सहभागिता थियो। र्‍यालीमा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिको सम्मान, समावेशी नीति निर्माण, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र समान अवसर सुनिश्चित गर्न माग गरेका थिए।

    कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले मस्तिष्क पक्षाघात भएका व्यक्तिको क्षमता र प्रतिभाको कदर गर्दै उनीहरूलाई समाजमा सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

    उहाँले मस्तिष्क पक्षाघात भएका बालबालिकाको हकहित संरक्षण र उनीहरूको क्षमता विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलमानसिंह प्रधानले अन्तर्राष्ट्रिय संस्थाहरूका पछिल्ला अध्ययनलाई उद्धृत गर्दै विश्वभर मस्तिष्क पक्षाघातबाट प्रभावित व्यक्तिको सङ्ख्या एक करोड ७० लाखबाट बढेर पाँच करोड पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रभावित व्यक्तिको स्याहार तथा सहयोगमा ३५ करोडभन्दा बढी परिवारका सदस्य र स्याहारकर्ता संलग्न छन्।

    प्रधानले विकसित देशमा गुणस्तरीय प्रसूति सेवाका कारण मस्तिष्क पक्षाघात हुने दर घटेको उल्लेख गर्दै नेपालमा यसको रोकथाम र समयमै पहिचानका लागि थप प्रभावकारी उपाय आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार उच्च आय भएका देशमा प्रति हजार जीवित जन्ममा १.६ जनामा मस्तिष्क पक्षाघात देखिने गरेको छ भने नेपालजस्ता देशमा यो दर तीनदेखि चार जनासम्म र दुर्गम क्षेत्रमा १० जनासम्म रहेको अध्ययनले देखाएको छ।

    उहाँले अस्ट्रेलियामा प्रयोग हुने नवजात शिशुको मस्तिष्कलाई चिस्याएर उपचार गर्ने प्रविधि, स्क्यान्डिनेभियाली देशमा अपनाइने नवजात शिशुको जन्डिस परीक्षण, स्कटल्यान्डको म्याग्नेसियम सल्फेट प्रयोगसम्बन्धी नीति तथा बङ्गलादेश र भारतका समुदायमा आधारित परीक्षणका उदाहरण प्रस्तुत गर्नुभयो।

    नेपालमा पनि सुरक्षित प्रसूति सेवा, जन्मका क्रममा शिशुको मस्तिष्कमा अक्सिजनको कमी हुन नदिने व्यवस्था र नवजात शिशुको जन्डिस समयमै पहिचान गर्ने प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    कार्यक्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालको सहयोगमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्न सफल पाँच जना मस्तिष्क पक्षाघात भएका विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा ललितपुर महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत प्रकृति भट्टराईसहित दर्शन केसी, शुभेच्छा खतिवडा, साधना घिमिरे र उमेश चौधरी रहनुभएको छ।

    सन् १९८६ मा स्थापना भएको मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले विशेष विद्यालय, पुनःस्थापना केन्द्र, आवासीय कार्यक्रम तथा दिवा स्याहार सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले १९ भन्दा बढी जिल्लामा सामुदायिक पहुँच कार्यक्रममार्फत दुई हजार पाँच सयभन्दा बढी बालबालिका तथा उनीहरूका परिवारलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

    हरेक वर्ष अक्टोबर ६ मा विश्व मस्तिष्क पक्षाघात दिवस मनाइन्छ। यस दिवसले मस्तिष्क पक्षाघात भएका व्यक्तिको अधिकार, सम्मान, समावेशिता र आवश्यक सेवामा पहुँच सुनिश्चित गर्न विश्वव्यापी रूपमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार