• शनिबार, २४ असोज २०८३
  • images

    स्वास्थ्य प्रमुख तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा

    स्वास्थ्य प्रमुख तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा

    नक्कली शैक्षिक प्रमाणपत्रबाट नियुक्ति र बढुवा भएको आरोप

    शुक्रबार, असोज २३ २०८३
    शुक्रबार, असोज २३ २०८३
    स्वास्थ्य प्रमुख तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौँ, २३ असोज । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र विभिन्न पदमा बढुवा भएको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालय धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङको निमित्त प्रमुखको जिम्मेवारीमा रहनुभएका तिवारीविरुद्ध शुक्रबार आरोपपत्र दायर गरेको हो।

    आयोगका अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको भनिएको इन्टरमिडियट आर्ट्स (आईए) तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको छ।

    अनुसन्धानका क्रममा उक्त प्रमाणपत्रकै आधारमा उहाँले विभिन्न माथिल्ला पद तथा श्रेणीमा बढुवा हुन पटकपटक सोही प्रमाणपत्र पेस गरेको र सरकारी कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगले जनाएको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ।

    आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार