• शनिबार, २४ असोज २०८३
  • images

    राप्ती प्रतिष्ठानलाई उपचारसँगै अनुसन्धान केन्द्र बनाउनुपर्ने

    राप्ती प्रतिष्ठानलाई उपचारसँगै अनुसन्धान केन्द्र बनाउनुपर्ने

    शुक्रबार, असोज २३ २०८३
    शुक्रबार, असोज २३ २०८३
    राप्ती प्रतिष्ठानलाई उपचारसँगै अनुसन्धान  केन्द्र बनाउनुपर्ने

    दाङ २३ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नहुने बताउनुभएको छ।

    दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवालाई जनमुखी र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभयो।

    प्रतिष्ठानकी सहकुलपतिसमेत रहनुभएकी मन्त्री मेहताले आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थामा व्यवस्था गरिएको १० प्रतिशत निःशुल्क सेवाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो।

    “आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि नागरिक सेवाबाट वञ्चित हुनुहुँदैन”, उहाँले भन्नुभयो, “प्रचलित व्यवस्था र मापदण्डअनुसार स्वास्थ्य संस्थाले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क सेवा प्रभावकारी रूपमा कार्यान्वयन गरी लक्षित वर्गले लाभ पाउने वातावरण बनाउनुपर्छ।”

    मन्त्री मेहताले स्वास्थ्य संस्थाले गुणस्तरीय उपचारसँगै बिरामी र कुरुवाका लागि स्वच्छ वातावरण, फोहोरको उचित व्यवस्थापन तथा स्वास्थ्यकर्मी र कर्मचारीको सम्मानजनक व्यवहारमा समेत ध्यान दिनुपर्ने बताउनुभयो।

    दाङसहित पश्चिम क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रतिष्ठानको सेवा विस्तार, सघन उपचार कक्ष (आईसीयू) तथा विशेषज्ञ सेवा थप र औषधि व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। प्रतिष्ठानले उपचार सेवासँगै अनुसन्धान कार्यलाई पनि अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

    “स्वास्थ्य सेवा ठूलो हुनु भनेको भवन ठूलो हुनु मात्र होइन। सेवा पाउने बिरामीको सङ्ख्या बढ्नु, सेवाको गुणस्तर सुधार हुनु र उपचारका लागि आउने बिरामीको लाइन कम हुनु पनि हो”, मन्त्री मेहताले भन्नुभयो।

    उहाँले बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता कम गर्न आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापकीय क्षमता विकास गर्नुपर्ने बताउनुभयो। आवश्यक शल्यक्रिया समयमै गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उहाँले प्रतिष्ठानको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै समुदायको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रतिष्ठानलाई नागरिकले गुणस्तरीय उपचार सेवा पाउने संस्थाका रूपमा विकास गर्नुका साथै अनुसन्धान केन्द्रका रूपमा समेत स्थापित गर्नुपर्ने बताउनुभयो। सरकार र नागरिकको सहकार्यबाट प्रतिष्ठानले वर्तमान अवस्था हासिल गरेको उल्लेख गर्दै उहाँले चार सय शय्याको अस्पताल भवन निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रमका अन्य वक्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपचार सेवा प्रदान गर्ने संस्थाका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। त्यसका लागि तीनै तहका सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

    कार्यक्रममा मन्त्री मेहताका प्रमुख सल्लाहकार प्रधान, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका पूर्वसंयोजक चन्द्रराज पन्तलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपकुलपति डा. अजय मिश्रले गर्नुभएको थियो।

    यसै अवसरमा प्रतिष्ठानमा मुटुरोगको पहिचान तथा उपचार सेवालाई विस्तार गर्ने उद्देश्यले क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ। मन्त्री मेहताले क्याथ ल्याब सेवाको उद्घाटन गर्नुभयो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार