काठमाडौँ, २१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तीन जना नयाँ उपसचिव सरुवा भएर आएका छन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको उपसचिवको सरुवा तथा कामकाज हेरफेरमा तीन जना उपसचिवलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको हो।
स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आउनुभएका उपसचिवमा अध्यागमन विभागमा कार्यरत टेककुमार रेग्मी, जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत अशोककुमार भण्डारी र जिल्ला समन्वय समिति कञ्चनपुरमा कार्यरत खेमराज काफ्ले हुनुहुन्छ।
मंगलबारको निर्णयसँगै उहाँहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको हो।
तीन जना उपसचिव स्वास्थ्य मन्त्रालयमा आउँदा स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा कार्यरत चार जना उपसचिवको भने अन्यत्र सरुवा भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत उपसचिव हरि पंगेनी गृह मन्त्रालयमा सरुवा हुनुभएको छ।
यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका उपसचिव प्रेमकाजी महर्जनलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
स्वास्थ्य सेवा विभाग, टेकुमा कार्यरत उपसचिव प्रकाश देवकोटाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमै कार्यरत उपसचिव केशव पौडेललाई कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सरुवा गरिएको छ।
सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको हो। सोही क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तीन जना उपसचिव नयाँ जिम्मेवारीसहित आउनुभएको हो।