काठमाडौं, २८ साउन । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा भ्याक्सिन केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेको छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियामार्फत सर्पदंशविरुद्ध प्रयोग हुने ८ हजार २ सय भायल एएसभी बिहीबार साँझ टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो।
त्यसैगरी, रेबिजको जोखिममा परेका व्यक्तिको उपचारमा प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन पनि केन्द्रीय स्टोरमा आइपुगेको विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार प्राप्त औषधि तथा भ्याक्सिन आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाइनेछ।
सर्पदंश तथा रेबिज दुवै आकस्मिक उपचार आवश्यक पर्ने स्वास्थ्य समस्या भएकाले उपचारका लागि आवश्यक औषधि तथा भ्याक्सिनको नियमित उपलब्धता महत्वपूर्ण हुन्छ। विशेषगरी सर्पदंशका घटना बढी हुने क्षेत्रमा एएसभीको उपलब्धताले बिरामीको उपचारमा सहजता पुग्नेछ।
त्यस्तै, रेबिज सार्न सक्ने जनावरले टोकेपछि आवश्यक पर्ने रेबिज इम्युनोग्लोबुलिन उपलब्ध भएपछि जोखिममा परेका व्यक्तिले समयमै उपचार पाउने वातावरण थप सहज हुने विभागले जनाएको छ।
प्राप्त सामग्री प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हुँदै आवश्यकता र मागका आधारमा सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। नयाँ आपूर्तिसँगै सर्पदंश तथा रेबिजको उपचारमा आवश्यक औषधिको उपलब्धता थप सहज हुनेछ।