काठमाडौँ, ८ जेठ । नेपाल औषधी आयातकर्ता संघ (मियान) ले क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव बढ्दै गएको भन्दै औषधिको समुचित वितरण, आपूर्ति व्यवस्थापन तथा अनुगमनका लागि विशेष इकाई गठन गरेको छ ।
संघका अध्यक्ष पवन आचार्यको नेतृत्वमा गठन गरिएको उक्त इकाईले औषधि व्यवस्था विभागसँग समन्वय गर्दै देशभरका अस्पतालमा उपचाररत बिरामीसम्म आवश्यक औषधि पु¥याउने जनाएको छ ।
संघका अध्यक्ष पवन आचार्यले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहअन्तर्गतका सिस्प्लाटिन र कार्बोप्लाटिनसहित नर्मल स्लाइन तथा डीएनएसजस्ता अत्यावश्यक औषधिको आपूर्ति संकट गम्भीर बन्दै गएको जानकारी गराउनुभयो ।
आचार्यका अनुसार हाल उपलब्ध मौज्दात प्राथमिक तहमा बढीमा एक हप्ताका लागि मात्रै पर्याप्त रहेको छ भने बजारमा समग्र आपूर्ति अवस्था अधिकतम दुई हप्तासम्म धान्न सक्ने अवस्थामा रहेको छ ।
अत्यधिक प्रयास र वैकल्पिक व्यवस्थापन गरिएमा तीन हप्तासम्म आपूर्ति निरन्तरता दिन सकिने भए पनि त्यसपछि अवस्था थप जटिल बन्न सक्ने उहाँको भनाइ छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसक्दा आयात तथा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको जनाएको छ ।
मियानका महासचिव मधु पौडेलले विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्चमा भएको वृद्धि, बीमा शुल्क महँगिनु तथा पश्चिम एशियामा विकसित द्वन्द्वका कारण अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला प्रभावित हुँदा औषधि आयातमा समस्या उत्पन्न भएको जानकारी दिनुभयो ।
उहाँले विशेषगरी क्यान्सर उपचारमा प्रयोग हुने औषधिको उत्पादन तथा आपूर्ति अन्तर्राष्ट्रिय स्तरमै प्रभावित भएको उल्लेख गर्दै नेपालमा समेत त्यसको प्रत्यक्ष असर देखिन थालेको बताउनुभयो ।
उपचार प्रक्रियामा रहेका बिरामीलाई औषधिको अभाव हुन नदिन अस्पताल, आयातकर्ता र नियामक निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको पनि संघले स्पष्ट पारेको छ ।
मियानले पछिल्लो १० वर्षदेखि धेरै औषधिको मूल्य पुनरावलोकन तथा समायोजन हुन नसकेको भन्दै सरकारलाई तत्काल मूल्य समायोजनको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
संघका अनुसार हालको मूल्य संरचनाले आयातकर्तालाई लागत धान्न कठिन बनाएको छ, जसका कारण केही औषधिको नियमित आयात नै प्रभावित हुने जोखिम बढेको छ ।
संघले औषधि आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले यथाशीघ्र नीतिगत सहजीकरण, मूल्य पुनरावलोकन तथा आपूर्ति प्रणालीलाई स्थिर बनाउने कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ ।