धरान, ३० साउन । कोशी प्रदेशका विभिन्न जिल्लामा प्यालियेटिभ तथा हस्पिस केयर सेवा विस्तार गर्ने उद्देश्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन गरिएको पाँचदिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ।
नेपाल हस्पिस केयर सेन्टरको आयोजनामा तथा बीपीकेआईएचएस स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजनमा सञ्चालन गरिएको ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स वर्कशप’मा कोशी प्रदेशका १४ वटै जिल्लाबाट ६० भन्दा बढी चिकित्सक तथा नर्स सहभागी भएका थिए।
क्यान्सरलगायत दीर्घ तथा जटिल रोगबाट पीडित बिरामीको उपचारसँगै उनीहरूको पीडा कम गर्ने, जीवनको गुणस्तर सुधार गर्ने र परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्यालियेटिभ केयरलाई अस्पतालबाहिर समुदायस्तरसम्म विस्तार गर्न तालिम केन्द्रित थियो।
कार्यक्रममा रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्टअन्तर्गत रोटरी क्लब अफ काष्ठमण्डपले आर्थिक सहयोग गरेको थियो। टु वर्ल्ड्स क्यान्सर कोल्याबोरेसन, क्यानडालगायत संस्थाले प्राविधिक तथा प्रशिक्षण सहयोग उपलब्ध गराएका थिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र धरान उपमहानगरपालिकाको समेत सहकार्य रहेको आयोजकले जनाएको छ।
रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यले प्यालियेटिभ तथा हस्पिस केयरलाई अस्पतालमा सीमित नराखी बिरामीको घर र समुदायसम्म पुर्याउन दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभयो। उहाँले ग्लोबल ग्रान्टबाट प्राप्त सहयोगलाई दीर्घकालीन प्रभाव पार्ने स्वास्थ्य कार्यक्रमका रूपमा उपयोग गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार तालिममा सहभागी स्वास्थ्यकर्मीलाई प्रशिक्षकका रूपमा समेत विकास गर्ने अवधारणाले कार्यक्रमलाई थप प्रभावकारी बनाउनेछ। सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा पुगेर अन्य स्वास्थ्यकर्मीलाई समेत सीप हस्तान्तरण गर्ने भएकाले एकैपटक धेरै स्वास्थ्य संस्थामा प्यालियेटिभ केयरको क्षमता विस्तार गर्न सकिने उहाँले बताउनुभयो।
कार्यशालाबाट कोशी प्रदेशमा आधारभूत प्यालियेटिभ तथा हस्पिस सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति तयार गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ। यही अवधारणाअनुसार कार्यक्रमलाई आगामी दिनमा मधेश र बागमती प्रदेशमा समेत विस्तार गरिने अध्यक्ष वैद्यले जानकारी दिनुभयो।
कार्यशालाको उद्घाटन सत्रमा प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका प्रमुख प्राडा रोबिन मास्केले स्वागत गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा मेडिकल अन्कोलोजी युनिटकी इन्चार्ज मेडिकल अन्कोलोजिस्ट डा. सोनिया दुलालले प्रशिक्षणको उद्देश्य, आवश्यकता र कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। डा. विष्णु श्रेष्ठले प्यालियेटिभ तथा हस्पिस केयरको अवधारणा र यसको महत्वबारे प्रस्तुति दिनुभएको थियो।
प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्कीले कार्यशालाको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा निमित्त अस्पताल प्रमुख डा. इन्द्रकुमार लिम्बू, निवर्तमान उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, निवर्तमान रेक्टर प्राडा सञ्जीवकुमार शर्मा, विभिन्न विभाग तथा शाखाका प्रमुख, शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो।
प्रशिक्षणका क्रममा प्यालियेटिभ केयरका आवश्यक सेवा, प्यालियेटिभ केयर इकोसिस्टमका चार आधारस्तम्भ, स्वास्थ्य प्रणालीमा यसको एकीकरण, घरमै उपलब्ध गराउन सकिने हस्पिस सेवा तथा सेवा विस्तारबाट हुने प्रभावलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यशालामा नेपाल हस्पिस केयर सेन्टरका बोर्ड अफ डाइरेक्टर तथा नेपाल एसोसिएसन अफ प्यालियेटिभ केयरका अध्यक्ष एवं किष्ट मेडिकल कलेजका प्राडा विष्णुदत्त पौडेल, भारतीय दूतावासअन्तर्गत पेन्सन पेइङ अफिसका प्रमुख मेजर शम्मी सुवर्ण, भक्तपुर क्यान्सर अस्पतालका डा. विष्णु श्रेष्ठ तथा नर्स राधिका मकाजू, स्वास्थ्य मन्त्रालयकी प्रतिनिधि डा. सभ्यता पन्थी, धरान उपमहानगरपालिका–२० का अध्यक्ष पदम लिम्बू, जनस्वास्थ्य अधिकृत दीपा अधिकारी, रोटरी क्लब अफ काष्ठमण्डपका सज्जन थापालगायत स्वास्थ्य क्षेत्रका विज्ञ तथा प्रतिनिधिको सहभागिता थियो।
त्यसैगरी पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलका डा. दीपक श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालकी डा. सृष्टि तिवारी तथा भारतको हैदराबादकी नर्स स्वरूप इम्माराजुलगायतले विभिन्न सत्रमा सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो।
आयोजकका अनुसार कार्यशालाको प्रमुख उपलब्धि दक्ष जनशक्ति उत्पादनसँगै प्रशिक्षक तयार गर्नु हो। यसबाट सहभागी स्वास्थ्यकर्मीले आफू कार्यरत संस्थामा फर्किएपछि अन्य स्वास्थ्यकर्मीलाई समेत प्रशिक्षण दिन सक्ने भएकाले प्यालियेटिभ तथा हस्पिस केयरको पहुँच क्रमशः जिल्लास्तर हुँदै समुदायसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्यालियेटिभ केयरलाई उपचारको अन्तिम चरणमा रहेका बिरामीका लागि मात्र नभई दीर्घ तथा जटिल रोगसँग बाँचिरहेका बिरामीको पीडा व्यवस्थापन र जीवनको गुणस्तर सुधारसँग जोडेर हेर्नुपर्ने आवश्यकता बढिरहेका बेला यस्तो तालिमले स्थानीय स्वास्थ्य प्रणालीमा यसको पहुँच विस्तार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।