• आइतबार, १८ असोज २०८३
  • images

    मस्तिष्क मृत्युबाट हुने अङ्गदान बढाउन अस्पतालदेखि समुदायसम्म अभियान चलाउनुपर्ने

    मस्तिष्क मृत्युबाट हुने अङ्गदान बढाउन अस्पतालदेखि समुदायसम्म अभियान चलाउनुपर्ने

    बिहीबार , साउन २८ २०८३
    बिहीबार , साउन २८ २०८३
    मस्तिष्क मृत्युबाट हुने अङ्गदान बढाउन अस्पतालदेखि समुदायसम्म अभियान चलाउनुपर्ने

    ललितपुर, २८ साउन ।  नेपालमा अङ्ग प्रत्यारोपणको सेवा विस्तार हुँदै गए पनि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अङ्गदान अपेक्षाकृत न्यून रहेकाले यसको प्रवर्द्धनका लागि अस्पतालदेखि समुदायसम्म व्यापक अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ।

    विश्व अङ्गदान दिवस २०२६ का अवसरमा स्वास्थ्य अभियान नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सक, अङ्ग प्रत्यारोपण विज्ञ, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, अङ्ग प्रत्यारोपण गराएका व्यक्ति तथा अङ्गदाता परिवारका सदस्यले मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो।

    pgm organn.jfif

    कार्यक्रममा अङ्ग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा करिब दुई दशकअघिसम्म अङ्ग प्रत्यारोपणको सम्भावना सीमित रहे पनि अहिले मुलुकमै जटिल प्रत्यारोपण सेवा सम्भव भएको बताउनुभयो। नेपालमा सन् २००८ मा मिर्गौला र सन् २०१६ मा कलेजो प्रत्यारोपण सेवा सुरु भएको जानकारी दिँदै उहाँले हालसम्म करिब तीन हजार जनाको मिर्गौला र ७५ जनाको कलेजो प्रत्यारोपण भइसकेको बताउनुभयो।

    मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त हुने अङ्ग प्रत्यारोपणका लागि महत्वपूर्ण हुने बताउँदै डा. श्रेष्ठले एक जना मृत अङ्गदाताबाट धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृत अङ्गदाताबाट मात्र २३ वटा ठोस अङ्ग प्रत्यारोपण हुन सकेको उहाँले जानकारी दिनुभयो। तीमध्ये १७ वटा मिर्गौला, पाँचवटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण भएको उहाँले बताउनुभयो।

    pgm organ.jfif

    मृत दाताबाट हुने अङ्ग प्रत्यारोपण नेपालमा सन् २०१७ मा मिर्गौला प्रत्यारोपणबाट सुरु भएको उल्लेख गर्दै उहाँले सम्भावित अङ्गदाता पहिचान, मस्तिष्क मृत्युको समयमै घोषणा, परिवारसँग समन्वय तथा अङ्ग संकलन र प्रत्यारोपणका लागि आवश्यक संरचना सुदृढ गर्नुपर्ने बताउनुभयो।

    डा. श्रेष्ठले अङ्गदानको विषयमा जनचेतना विस्तारलाई सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताउनुभयो। मृत्यु भएपछि खेर जाने अङ्ग दान गरेर अरूको जीवन बचाउन सकिने सन्देश समाजमा पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो। सवारी चालक अनुमतिपत्रका लागि आवेदन तथा नवीकरणका क्रममा अङ्गदानसम्बन्धी प्रतिबद्धता जनाउने व्यवस्था गर्न सके दाता बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

    organ day.jfif

    वरिष्ठ न्यूरोसर्जन डा. राजीव झाले समाजमा मस्तिष्क मृत्युबारे अझै पर्याप्त बुझाइ नरहेको बताउनुभयो। मस्तिष्क मृत्यु भएका व्यक्तिलाई कुनै न कुनै रूपमा बचाउन सकिन्छ भन्ने भ्रमका कारण परिवारलाई अङ्गदानका लागि सहमत गराउन कठिन हुने उहाँले बताउनुभयो।

    मस्तिष्क मृत्यु घोषणा निश्चित चिकित्सकीय मापदण्डका आधारमा गर्नुपर्ने भएकाले यसको प्रक्रिया सहज नभएको उल्लेख गर्दै डा. झाले आवश्यक परीक्षण, औषधि, दक्ष जनशक्ति तथा पूर्वाधारको अभावमा विशेषगरी निजी स्वास्थ्य संस्थामा मस्तिष्क मृत्यु पहिचान र अङ्गदानको प्रक्रिया थप चुनौतीपूर्ण बन्ने बताउनुभयो। सम्भावित मस्तिष्क मृत्यु भएका बिरामीको समयमै पहिचान गरी सम्बन्धित संयन्त्रलाई जानकारी गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अङ्गदान मानव सेवाको महान कार्य भएको बताउनुभयो। आफू मात्र बाँच्ने नभई मृत्युपछि पनि अरूलाई जीवन दिन सकिने भएकाले अङ्गदानको महत्व समाजले बुझ्नुपर्ने उहाँले बताउनुभयो।

    वरिष्ठ चिकित्सक डा. भोला रिजालले अङ्गदानलाई स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। अङ्गदानसम्बन्धी सकारात्मक सोच विकास गर्न राज्य, चिकित्सक, सञ्चारमाध्यम र नागरिक समाज सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

    गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले अङ्गदानको संस्कृति विकास गर्न सञ्चारमाध्यमले निरन्तर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो। समाज परिवर्तन एकै दिनमा सम्भव नहुने भएकाले अङ्गदानको विषयलाई निरन्तर सार्वजनिक बहसमा ल्याउनुपर्ने उहाँले बताउनुभयो। मृत्युपछि पनि अरूको जीवन बचाउन सकिने संस्कार विकास गर्न सके अङ्गदानले समाजलाई थप मानवीय र संवेदनशील बनाउन योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

    कार्यक्रममा सहभागी हिन्दु, बौद्ध तथा मुस्लिम धर्मगुरुले धार्मिक दृष्टिकोणबाट अङ्गदान गर्न रोक्ने व्यवस्था नरहेको स्पष्ट पार्नुभयो। भिक्षु कोण्डञ्ञ, हिन्दु गुरु चिन्तामणि योगी तथा मुस्लिम धर्मगुरु काजी अबुकर सिद्दिकी कासिनले मानव जीवन बचाउने र पीडितलाई सहयोग गर्ने कार्यका रूपमा अङ्गदानलाई लिनुपर्ने बताउनुभयो।

    कार्यक्रममा नेपालमा अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी व्यवस्था तुलनात्मक रूपमा उदार र प्रगतिशील रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो। मस्तिष्क मृत्युको समयमै पहिचान तथा घोषणा, सम्भावित दाताको परिवारसँग समन्वय र अङ्ग संकलन तथा वितरणको प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने सहभागीहरूले बताउनुभयो।

    कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार तथा अङ्गदान प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने समन्वयकर्तालाई सम्मान गरिएको थियो। अङ्गदाता परिवारतर्फबाट सारु कोजु, तारा सन्त र बन्धना कार्की लगायतलाई सम्मान गरिएको थियो।

    अङ्ग प्रत्यारोपण गराउनुभएका शिव महर्जन र मीना बस्नेतले पनि आफ्ना अनुभव सुनाउनुभयो। मस्तिष्क मृत्यु भएका दाताबाट प्राप्त अङ्गका कारण आफूहरूले नयाँ जीवन पाएको बताउँदै उहाँहरूले अङ्गदाता परिवारप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

    कार्यक्रममा चिकित्सक, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाबीच मस्तिष्क मृत्युबाट हुने अङ्गदान बढाउने विषयमा गोलमेच छलफलसमेत गरिएको थियो। छलफलमा सार्वजनिक जनचेतना विस्तार, अस्पतालको भूमिका सुदृढीकरण, स्वास्थ्य मन्त्रालयलाई नीतिगत सुझाव, ट्राफिक प्रहरी तथा सञ्चारमाध्यमसँग सहकार्य र नागरिकलाई अङ्गदानका लागि प्रतिबद्ध गराउने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो।

    कार्यक्रमको समापनमा मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई प्रभावकारी बनाउन विभिन्न पक्षबीच सहकार्य गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं घोषणा’ समेत अपनाइएको स्वास्थ्य अभियान नेपालले जनाएको छ। अङ्गदानलाई सामाजिक संस्कारका रूपमा विकास गर्ने र अङ्ग असफलताबाट पीडित व्यक्तिलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिइने संस्थाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार