काठमाडौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान सम्बन्धि जनचेतना जगाउने कार्यमा व्यस्त छ । यसअघि सुर्खेत, धनगढीमा अंगदान सम्बन्धि जनचेतनामुलक कार्यक्रम लिएर गएको केन्द्रले यो पटक पोखरामा मस्तिष्क मृत्यु पछि हुने अंगदान सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि केन्द्रले विभिन्न स्थानमा गई अंगदान सम्बन्धि कार्यक्रम तथा स्वास्थ्य शिविर समेत सम्पन्न गरीसकेको छ ।
पोखरामा सम्पन्न मष्तिष्क मृत्यु पछि हुने अंगदान र प्रत्यारोपण सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट अन्य व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने भन्दै ‘मस्तिष्क मृत्यु’ पछि अंगदान गर्ने व्यवस्थालाई जनस्तरमा उठाउनुपर्ने बताईएको छ ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको मष्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले मस्तिष्क मृत्युपछि मानिसको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सके धेरै बिरामीको मिर्गौला, कलेजो लगायतका अंग प्रत्यारोपण गर्न सकिने बताएका छन् ।
मस्तिष्क मृत्युपछि हुने अंगदानमा जोड दिदैं विज्ञहरुले यसका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए ।

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठले एक जना मष्तिष्क मृत्यु भएको व्यक्तिको ८ वटा अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा वार्षिक ३ हजार जनाको मिर्गौला र १ हजार जनाको कलेजो प्रत्यारोपण गर्नपर्ने अवस्था रहेको बताउँदै यसको तुलनामा अत्यन्तै कमको मात्रै प्रत्यारोपण भइरहेको दुखेसो गर्नुभयो ।
मिर्गौला तथा कलेजो प्रत्यारोपणमा २० प्रतिशत पुरुष र ८० प्रतिशत महिलाले अंग दान गरिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले प्रत्यारोपणमा समेत महिला र पुरुष भनी विभेद भइरहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री हिराचन्द केसीले अंगदान अभियान तथा प्रत्यारोपण सेवालाई विस्तार गर्न सरकारले पूर्ण रुपमा सहयोग गर्ने बतउनुभयो । मस्तिष्क मृत्युपछि अंगदान गर्न सके त्यो भन्दा ठूलो दान अरु केही नहुने उहाँको भनाई छ । मरेर जाने शरीरबाट अन्य व्यक्तिले अंग पाएर जिवनलाई क्रियाशिल ढंगबाट चलाउन सक्ने भएकोले मस्तिष्क मृत्युपछि हुने अंगदानसम्बन्धि जनचेतना जगाउनुपर्ने उहाँको भनाई छ ।
हालसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जम्मा ४ जना मष्तिष्क मृत्यु भएकाको अंग अर्को व्यक्तिमा प्रत्यारोपण भएको बताउनुभयो । उहाँका अनुसार मष्तिष्क मृत्यु भएका ४ जना व्यक्तिबाट ८ जनाको मिर्गौला र २ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुक बहादुर क्षेत्रीले अंगदानबारे जनचेतना फैलाउने राष्ट्रिय प्रत्यारोपण केन्द्रको अभियानमा प्रतिष्ठानले साथ दिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका सिनियर कन्सल्टेन्ट नेफ्रोलोजी डा.कल्पना श्रेष्ठले डाइलाइसिस र प्रत्यारोपण सेवालाई देशभरका सरकारी अस्पतालमा विस्तार गर्नुपर्ने बताउनुभयो । हाल १९ वटा जिल्लाका सरकारी अस्पतालमा मात्रै यी सेवा रहेकाले धेरै बिरामी उपचरको पहुँच बाहिर रहेको उहाँले बताउनुभयो ।

प्रत्यारोपण केन्द्रमा कार्यरत एनेष्थेसियोलोजिष्ट डा. निभा श्रेष्ठले अंगदानसम्बन्धमा रहेका कानुनी व्यवस्था, व्यवहारिक पक्षको जानकारी गराउँदै मष्तिष्क मृत्यु भएपछि खरानी हुने अंगलाई संरक्षण गरी अर्का व्यक्तिको जीवन जोगाउन जरुरी रहेको बताउनुभयो । मरेपछि खरानी भएर जाने अंगको दान भए धेरैलाई बचाउन सकिने उहाँको भनाई छ ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको बताउनुभयो ।
नेपालमा सडक दुर्घटना तथा अन्य स्वास्थ्य समस्याका कारण करीब १ हजार जनाको मष्तिष्क मृत्यु हुने गरेको तत्यांक छ । वर्षेनी ३ हजार जनाको मिर्गौला र १ हजार जनाको कलेजो प्रत्यारोपण गर्न पर्न विरामी थपिने गरेको अस्पतालहरुको तथ्यांकहरुले देखाएको छ ।
