देशभर ट्रमा उपचार सेवा विस्तार र पुनर्स्थापना केन्द्र निर्माण गरिने
काठमाडौँ, ३१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा उपचार सेवा विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्याउन पुनर्स्थापना केन्द्र निर्माण गर्ने कार्य अघि बढाइएको बताउनुभएको छ ।
ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागका नागरिकलाई समेत सहज रूपमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ट्रमा उपचार सेवाको पहुँच विस्तार गर्न लागिएको बताउनुभयो । दुर्घटनामा परेका व्यक्तिको जीवन रक्षा गर्नुका साथै उपचारपछि पुनः सामान्य जीवनयापन गर्न आवश्यक सहयोग र सेवा उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
मन्त्री मेहताले सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नु राज्य, स्वास्थ्य क्षेत्र र समग्र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । दुर्घटनामा घाइते भएकाको जीवन रक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको मन्त्री मेहताले बताउनुभयो । यसका लागि एम्बुलेन्स सेवाको प्रभावकारिता बढाउने, स्वास्थ्य संस्थाबीचको समन्वय सुदृढ गर्ने तथा दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले दुर्घटनापछि उपचार गर्नु जति आवश्यक छ, दुर्घटना हुनै नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो । सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।
गम्भीर दुर्घटना तथा चोटपटकका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
सेन्टरको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष एक लाख २४ हजार ११२ जनाले बहिरङ्ग सेवा लिएका छन् । आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या एक लाख १४ हजार ८०० थियो । एक वर्षको अवधिमा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या नौ हजार ३१२ ले बढेको छ ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीका अनुसार सेन्टरमा जटिल शल्यक्रियादेखि सामान्य चोटपटकसम्मको उपचार हुँदै आएको छ । सेन्टरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १९ हजार २७१ जनाले आकस्मिक सेवा लिएका थिए भने छ हजार ७५७ जना उपचारका लागि भर्ना भएका थिए । अघिल्लो आर्थिक वर्षमा भर्ना हुने बिरामीको सङ्ख्या छ हजार ३८० थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा सेन्टरमा आठ हजार १३९ वटा शल्यक्रिया भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या सात हजार ८१७ थियो । यसले सेन्टरमा शल्यक्रियासम्बन्धी सेवाको उपयोगसमेत बढ्दै गएको देखाउँछ ।
सेन्टरमा उपलब्ध शय्याको उपयोग दर ९०.७३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा यस्तो दर ७३.३ प्रतिशत थियो । बिरामीको चाप बढ्दै जाँदा उपलब्ध शय्याको उपयोग दरसमेत बढेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सेन्टरमा एक लाख २० हजार ३३९ वटा रेडियोलोजी परीक्षण र दुई लाख ५३ हजार ८३५ वटा प्रयोगशाला परीक्षण भएका थिए । अघिल्लो आर्थिक वर्षमा रेडियोलोजी परीक्षण एक लाख चार हजार ५०० र प्रयोगशाला परीक्षण दुई लाख ३१ हजार ७८० वटा भएका थिए ।
उक्त आर्थिक वर्षमा उपचारपछि डिस्चार्ज भएका छ हजार ५३३ बिरामीमध्ये एक हजार १६५ जना सडक दुर्घटनामा परी घाइते भएका थिए । यसैगरी, लडेर घाइते भएका दुई हजार २५७ जना र सामान्य चोटपटक लागेका एक हजार ६५५ जना बिरामी डिस्चार्ज भएका थिए ।
डा. मरासिनीले सडक दुर्घटनाबाट हुने मानवीय क्षति नेपालका लागि गम्भीर चुनौतीका रूपमा रहेको बताउनुभयो । सडक दुर्घटनाका कारण घाइते तथा उनीहरूका परिवारले शारीरिक, मानसिक र आर्थिक भार व्यहोर्नुपर्ने भएकाले दुर्घटना रोकथाम, समयमै उद्धार र गुणस्तरीय उपचारलाई एकसाथ अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
दुर्घटनामा परेका व्यक्तिको जीवन रक्षा गर्नुका साथै उपचारपछि पुनःस्थापना र सामान्य जीवनमा फर्कने वातावरण तयार गर्नु पनि ट्रमा उपचार सेवाको महत्त्वपूर्ण पक्ष हो । त्यसैले दुर्घटना न्यूनीकरणका उपायसँगै आकस्मिक उपचार र पुनर्स्थापना सेवालाई प्रभावकारी बनाउनु आवश्यक देखिएको छ ।