काठमाडौ । एघार जना पत्रकारहरुले आफ्नो मृत्यु पछि अंगदान गर्ने घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा पत्रकारहरुले आफ्नो मृत्युपछि अंगदान गर्ने घोषणा गरेका हुन् ।
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ शिविरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,लेखा समिती सदस्य लेखनाथ न्यौपाने,पूर्व सचिव रामप्रसाद दाहाल सहित एघार जना पत्रकारहरुले आफ्नो मृत्युपछि अंगदान गर्ने घोषणा गर्नुभएको हो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्वास्थ्य शिविर संयोजक गौरव पन्तले एघार जना पत्रकारहरुले आफ्नो मृत्युपछि अंगदान गर्ने घोषणा गरेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले अंगदान जस्तो महादान अरु कुनै दान हुन नसक्ने बताउनुभयो । उहाँले एक जना मानिसको शरीरबाट आठ वटा अंग अन्य व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने जानकारी दिदै आफू मरेर पनि अरुलाई बचाउन अंगदान गर्नु भन्दा अन्य दान ठूलो हुन नसक्ने बताउनुभयो । अंगदानमा अझै जनचेतनाको अभाव रहेकोले सञ्चार क्षेत्रले अंगदानबारे जनचेतना फैलाउनुपर्नेमा पनि डा.श्रेष्ठले जोड दिनुभयो । डा.श्रेष्ठले मृत्युपछि दुईवटा मिर्गौला,मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा लगायतका अंगदान गर्न मिल्ने बताउनुभयो ।

कार्यक्रममा दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले शरीरको सबैभन्दा महत्वपूर्ण मुख स्वास्थ्य रहेको बताउनुभयो । उहाँले मुख स्वास्थ्यकै कारण मिर्गौला , मुटु लगायत अरु रोगहरु लाग्ने बताउनुभयो ।
पत्रकार महासंघले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा निशुल्क मिर्गौला परीक्षण र अंगदानको आयोजना गरिएको हो ।
