काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोख खतिवडाले आफ्नो मृत्यु पश्चात सम्र्पूण अङ्गदान गर्ने घोषणा गर्नुभएको छ ।
चौविसौँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अङ्गदान शिविरमा मन्त्री खतिवडाले अङ्गदान गर्ने घोषणा गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री खतिवडाले आफू अङ्गदान गर्न तयार रहेको घोषण गर्दै कहाँ–कहाँ हस्ताक्षर र ल्याप्चे लगाउनुपर्छ त्यसको तयारी गर्न निर्देशन दिनुभएको थियो ।
मन्त्री खतिवडाले अङ्गदान शिविरमा पुगेर अङ्गदान गर्ने मञ्जुरी नामामा हस्ताक्षर गर्नुभएको थियो ।
उक्त अङ्गदान शिविरमा मुख्य सचिव शंकरदास बैरागीले पनि अङ्गदान गर्ने घोषणा गर्नुभएको थियो । सोही अवसरमा उहाँले पनि अङ्गदान गर्नुभयो ।
प्रत्यारोपण केन्द्रले विगत वर्षहरुमा पनि अङ्गदान गर्दै आइरहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले स्वास्थ्य दिवसको अवसरमा अङ्गदानका साथै मिर्गौला परीक्षण कार्यक्रम पनि राखिएको जानकारी दिनुभयो । उहाँले शिविरमा स्वास्थ्यमन्त्री,मुख्यसचिव लगायतका पदाधिकारी तथा अन्य सर्वसाधरणले पनि अङ्गदान गर्ने घोषणा गरेको बताउनुभयो ।