काठमाडौँ, २५ जेठ । वीर अस्पतालमा निःशुल्क ब्रेन ट्युमरको शल्यक्रिया हुने भएको छ ।
जुन महिनाभर वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने भएको हो ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका विभागीय प्रमुख प्राडा राजीव झाले अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जुन महिनाभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने जानकारी दिनुभयो ।
हामी हप्तामा पाँच दिन शल्यक्रिया गर्दछौँ, उहाँले भन्नुभयो,“दैनिक तीन देखि पाँचजनासम्मको शल्यक्रिया हुने गरेको छ ।
उहाँले वीरले शल्यक्रियाबापत लिने ३५ हजार शुल्क निःशुल्क हुने जानकारी दिदै वेड चार्ज र खाना समेत निःशुल्क हुने बताउनुभयो । डा. झाका अनुसार शल्यक्रियाको क्रममा लाग्ने औषधी तथा उपकरणको खर्च भने बिरामी आफैँले व्यहोर्नुपर्नेछ ।
अस्पतालले ब्रेन ट्युमर दिवसका अवसरमा जुन महिनााभरिलाई ब्रेन ट्युमरका बिरामीहरुको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको हो ।
डा. झाले नेपालमा हरेक वर्ष दुईहजार ६०० को हाराहारीमा ब्रेन ट्युमरका बिरामी भेटिने गरेको जानकारी दिनुभयो । उहाँले ४० देखि ५० वर्ष उमेरका सबभन्दा बढी बिरामी भेटिने गरेको बताउनुभयो ।

ब्रेन ट्युमर दिवसका अवसरमा केन्द्रले प्रभातफेरी कार्यक्रम गरेको थियो। प्रभातफेरी पश्चात् आयोजना गरिएको विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा स्थापना भएको ब्रेन ट्युमर केन्द्रलाई देशकै उत्कृष्ट केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
ब्रेन ट्युमर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्युमर धेरै देखिनेमा औसत उमेर ४६ ३२ वर्ष रहेको छ। अर्थात् ४०–५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेको केन्द्रका अध्यक्ष डा झा बताउँनुभयो ।
देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब २ हजार ५०० देखि २ हजार ६०० नयाँ मस्तिष्क ट्युमरका बिरामीहरू पहिचान हुने अनुमान गरिएको छ ।