काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको तेस्रो लहरको सम्भावना रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गर्दै आइरहेको छ। तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले माताहतका अस्पतालदेखि निजी अस्पताललाई समेत आवश्यक तयारी गर्न निर्देशन दिएको छ। तर, मन्त्रालय माताहतकै देशकै एक मात्र केन्द्रीय बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ भने दुईसाता देखि निर्देशकविहीन छ। तेस्रो लहरसँग जुध्न आवश्यक तयारी गर्नुपर्ने बेलामा अस्पतालमा अधिकारसहितको निर्देशक नहुँदा समस्या परिरहेको चिकित्सक तथा कर्मचारीले बताएका छन्।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल निर्देशकको जिम्मेवारीमा रहेका डा आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरेदेखि कान्ति अस्पताल निर्देशक विहीन बनेको हो। राज्यमन्त्री श्रेष्ठले अस्पतालमा निर्देशक भने नियुक्त गरेका छैनन्। स्वास्थ्य मन्त्रालयकै चेतवानी र तयारी गर्नुपर्ने निर्देशन हुँदाहुँदै पनि मन्त्रालयले कान्तिमा निर्देशक नियुक्त नगर्नु गलत भएको मन्त्रालयका कर्मचारी बताउँछन्।
अस्पतालमा पूर्ण जिम्मेवारी सहितको निर्देशक नियुक्त नहुँदा चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बारे अस्पताल बेखबर छ भने अस्पतालका चिकित्सक लगायतका कर्मचारीले साउन महिनाको लतब समेत पाएका छैनन्। अस्पतालमा विगतमा महिनाको २५ गते नै तलब आउने गथ्र्यो।
‘कोभिड संक्रमणविरुद्ध हालसम्म बालबालिकाका लागि खोप उपलब्ध नभएकाले तेस्रो लहरको संक्रमणको जोखिममा बालबालिका हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले नै बालबालिका लक्षित पूर्व तयारी गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिइसकेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘केन्द्रीय बाल अस्पताल भएकाले पनि अहिले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि कान्ति बाल अस्पतालले थप पूर्वतयारी गर्नुपर्ने समय हो। तर अस्पतालमा निर्देशक नै नियुक्त नगरेर सरकारले गम्भीर गल्ती गरिरहेको छ।’
डा चापागाईंले कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारीका लागि गर्नुपर्ने केही कामहरु अघिल्लो आर्थिक वर्षकै योजना अनुसार भइरहेको भए पनि दीर्घकालिन काम अगाडि बढाउन भने समस्या भएको बताउनुभयो । ३१५ शय्या क्षमताको कान्ति अस्पतालमा कोभिड आइसियूमा ४ शय्या, एचडीयू ६ र १८ वटा कोभिड शय्या छन्। यस्तै एनआइसीयू २५ र पिआइसीयू १८ वटा छन्।