काठमाडौं, १ मंसिर । हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा डा. श्रीधर पौडेल पुनः निर्वाचित हुनुभएको छ।
संस्थाको १४औँ वार्षिक सम्मेलनले डा. पौडेलको अध्यक्षतामा नयाँ कार्यकारी समिति चयन गरेको हो।
नयाँ कार्यसमितिको कार्यकारी निर्देशकमा प्रतीक्षा खत्री चयन हुनुभएको छ। उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थपलिया चयन हुनुभएको छ। त्यसैगरी महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन हुनुभएको छ।
२० सदस्यीय सञ्चालक समितिमा डा. अशोक देवकोटा, डा. यशस्वी पोखरेल, नील धिताल, डा. रञ्जित सापकोटा, डा. विनिता शर्मा, डा. सुनील बोगटी, सावित्री बस्नेत, डा. अतीत तिवारी, सुचिता अधिकारी थापा, डा. जितेन्द्र श्रेष्ठ, डा. प्रतिभा सुवेदी, विनिता अधिकारी, डा. कुम्भराज जोशी, डा. राजेश शर्मा, डा. मनोज भट्टराई, डा. आदित्य जोशी, डा. मुकेश अधिकारी, डा. मोहित ओझा, डा. अनु अर्याल र डा. पविता ढुङ्गेल रहनुभएको छ।
सम्मेलनको मुख्य नारा ‘विपद्भन्दा पर : मनको उपचार, समुदायको सुदृढीकरण र उत्थानशीलताको निर्माण’ रहेको थियो। सम्मेलनमा विपद्का समयमा मानसिक स्वास्थ्यको संरक्षण, समुदायको क्षमता अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँच विस्तारलगायत विषयमा छलफल भएको थियो।
सम्मेलनको पूर्वसन्ध्यामा अध्यक्ष डा. पौडेल, डा. अशोक देवकोटा र भर्जिनियाका समाजसेवी प्रेम पौडेललगायतले नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच. डेलिसी तथा मेरिल्यान्ड राज्यका नेपाली मूलका सांसद डा. ह्यारी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो।
सन् २०१३ मा स्थापना भएको हेल्थ फाउन्डेसन नेपाल गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो। अमेरिका र नेपाल दुवै देशमा दर्ता रहेको संस्थाले नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले मानसिक स्वास्थ्य, सुरक्षित खानेपानी, सरसफाइ, पोषण, बाल तथा मातृ स्वास्थ्य, परिवार नियोजन, किशोरकिशोरीको प्रजनन स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् र महामारीका समयमा मानवीय सहयोगका क्षेत्रमा काम गर्दै आएको छ।