डा. मिश्रालाई अघि सार्ने तयारी
काठमाडौं, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रको नेतृत्वका लागि नेपालले आफ्नो दाबी प्रस्तुत गर्ने भएको छ। नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई क्षेत्रीय निर्देशक पदको उम्मेदवार बनाउने तयारी गरेको हो।
क्षेत्रीय निर्देशक पदमा डा. मिश्रालाई अघि सार्ने निर्णय सरकारको तहबाट भइसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। अब निर्वाचनमा आवश्यक समर्थन जुटाउन सदस्य राष्ट्रसँग राजनीतिक तथा कूटनीतिक तहमा संवाद अघि बढाउने तयारी भइरहेको छ।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो। प्रस्तावित कार्यतालिकाअनुसार अक्टोबर १२ मा उम्मेदवारी आह्वान र जनवरी २४ मा निर्वाचन गर्ने तयारी छ।
नेपालले उम्मेदवार अघि सार्ने तयारी गरिरहँदा भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आफ्ना उम्मेदवार प्रस्तुत गर्ने तयारी गरेका छन्। त्यसैले निर्वाचन प्रतिस्पर्धात्मक हुने देखिएको छ। क्षेत्रीय निर्देशक चयनमा सदस्य राष्ट्रको मत निर्णायक हुने भएकाले नेपालले प्रारम्भिक चरणमै समर्थन जुटाउने प्रयास थालेको हो।
सेरोमा ११ सदस्य राष्ट्र रहे पनि यसपटक १० राष्ट्रले मात्र मतदान गर्न पाउनेछन्। सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसंघीय प्रतिबन्धमा रहेको म्यानमार निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने भएको छ।
क्षेत्रीय निर्देशक चयनमा भारतको मतलाई विशेष महत्वका साथ हेरिएको छ। नेपालसहित भारत, भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेलगायतका राष्ट्रको समर्थन निर्वाचनमा महत्वपूर्ण हुने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ। नेपालले आफ्नो उम्मेदवारीलाई बलियो बनाउन छिमेकी तथा अन्य सदस्य राष्ट्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार सरकार डा. मिश्राको उम्मेदवारीलाई औपचारिक रूपमा अघि बढाउने तयारीमा छ। उहाँका लागि आवश्यक अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा सम्बन्धित निकायबीच समन्वय भइरहेको ती अधिकारीले बताउनुभयो।
डा. मिश्राको उम्मेदवारी यस्तो समयमा अघि सारिएको हो, जतिबेला सेरोको नेतृत्व केही समयदेखि रिक्त छ। यसअघि बंगलादेशकी साइमा वाजेदले क्षेत्रीय निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो। बंगलादेशमा राजनीतिक परिवर्तनपछि उहाँमाथि विभिन्न आरोप लागेपछि डब्लूएचओले आन्तरिक छानबिन अघि बढाएको थियो। त्यसपछि उहाँ निलम्बनमा पर्नुभएको र सेप्टेम्बर ९ मा पदबाट राजीनामा दिनुभएको थियो।
सेरोको नेतृत्वका लागि नेपालले यसअघि पनि उम्मेदवारी दिएको थियो। सन् २०२३ को निर्वाचनमा नेपालका तर्फबाट डब्लूएचओ मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बन्नुभएको थियो। उक्त निर्वाचनमा साइमा वाजेदले आठ मत प्राप्त गर्दा डा. आचार्यले दुई मत प्राप्त गर्नुभएको थियो।
यसपटक भने क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालको उम्मेदवारीलाई नयाँ राजनीतिक तथा क्षेत्रीय समीकरणबीच हेरिएको छ। डा. मिश्राको प्रशासनिक तथा जनस्वास्थ्य क्षेत्रको अनुभवलाई आधार बनाएर नेपालले सदस्य राष्ट्रको समर्थन आफ्नो पक्षमा पार्ने प्रयास गर्ने तयारी गरेको छ।
डा. मिश्राको नाम यसअघि पनि स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि चर्चामा आएको थियो। उहाँलाई अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बनाउने प्रक्रिया अघि बढाइए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित मुद्दाका कारण नियुक्ति रोकिएको थियो। विशेष अदालतले गत १ असारमा उक्त मुद्दामा उहाँलाई सफाइ दिएको थियो।
अब सेरोको क्षेत्रीय निर्देशक पदमा उम्मेदवारी औपचारिक रूपमा दर्ता भएपछि नेपालको मुख्य ध्यान सदस्य राष्ट्रको समर्थन आफ्नो पक्षमा पार्न केन्द्रित हुने देखिएको छ। क्षेत्रीय स्वास्थ्य नीतिमा महत्वपूर्ण भूमिका खेल्ने सेरोको नेतृत्वमा नेपाली उम्मेदवारको सम्भावनालाई यसपटक सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ ।