• आइतबार, १४ भदौ २०८३
  • images
    कलेजो प्रत्यारोपण

    देवरको कलेजोले बचायो भाउजूको जीवन

    देवरको कलेजोले बचायो भाउजूको जीवन

    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुनः सुरु भयो कलेजो प्रत्यारोपण सेवा

    मंगलबार, असार ३० २०८३
    मंगलबार, असार ३० २०८३
    देवरको कलेजोले बचायो भाउजूको जीवन

    भक्तपुर, ३० असार । आफ्नै देवरले कलेजो दान गरेपछि काठमाडौं महानगरपालिका–२५ असन निवासी गंगा श्रेष्ठले नयाँ जीवन पाउनुभएको छ।  प्रत्यारोपणपछि स्वास्थ्य अवस्था सुधार भएसँगै उहाँ ११ दिनमै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।

    गंगा श्रेष्ठको असार १९ गते सफल कलेजो प्रत्यारोपण गरिएको थियो। उहाँका देवर सञ्जय श्रेष्ठले कलेजोको दान गर्नुभएको थियो। प्रत्यारोपणपछि अङ्गदाता सञ्जय श्रेष्ठ छैटौँ दिनमै घर फर्किनुभएको थियो भने ग्रहणकर्ता गंगा श्रेष्ठ पनि असार २९ गते स्वस्थ भएर डिस्चार्ज हुनुभएको केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले जानकारी दिनुभयो।

    कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहका अनुसार अङ्गदाता र प्रत्यारोपित दुवैको स्वास्थ्य अवस्था सामान्यछ। प्रत्यारोपणपछिका सबै चिकित्सकीय परीक्षण सामान्य देखिएकाले बिरामीलाई डिस्चार्ज गरिएको हो । 

    केही समयदेखि रोकिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएपछि गरिएको पहिलो कलेजो प्रत्यारोपण सफल भएको छ ।

     कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. साहका अनुसार प्रत्यारोपणपछिका सबै चिकित्सकीय परीक्षण सन्तोषजनक देखिएकाले बिरामीलाई घर पठाइएको हो। यद्यपि, प्रत्यारोपित बिरामीको नियमित अनुगमन र स्वास्थ्य परीक्षण भने निरन्तर रहने उहाँले बताउनुभयो।

    कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार केही समय प्राविधिक तथा जनशक्ति व्यवस्थापनका कारण रोकिएको कलेजो प्रत्यारोपण सेवा आवश्यक तयारी पूरा भएपछि पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको हो।

    उहाँले नेपालमै गुणस्तरीय प्रत्यारोपण सेवा उपलब्ध हुँदा बिरामीले विदेशमा महँगो उपचार खोज्नुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको उल्लेख गर्नुभयो।

    हाल केन्द्रमा कलेजो प्रत्यारोपण १५ देखि २० लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ, जुन दक्षिण एसियाका धेरै मुलुकको तुलनामा निकै कम लागत भएको केन्द्रको दाबी छ।

    यसपटकको प्रत्यारोपण डा. रामबाबु साहको नेतृत्वमा सम्पन्न भएको थियो। शल्यचिकित्सक, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, नर्सिङ, शल्यकक्ष व्यवस्थापन, पोषण, फिजियोथेरापी तथा समन्वय शाखाका विशेषज्ञहरूको संयुक्त टोली प्रत्यारोपणमा परिचालित भएको थियो।

    शल्यचिकित्सकको टोलीमा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादव सहभागी हुनुहुन्थ्यो। एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट विभागीय प्रमुख डा. आरती राईसहित विशेषज्ञ चिकित्सकहरूको टोली परिचालित भएको थियो। त्यस्तै रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, नर्सिङ, शल्यकक्ष व्यवस्थापन, पोषण तथा फिजियोथेरापी विभागका स्वास्थ्यकर्मीले प्रत्यारोपणलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    केन्द्रका अनुसार हालसम्म यहाँ १ हजार ६०६ वटा मिर्गौला प्रत्यारोपण र ३६ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। पछिल्लो शल्यक्रियासँगै कलेजो प्रत्यारोपण सेवा पुनः नियमित सञ्चालनमा आएको केन्द्रले जनाएको छ।

    कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहको नेतृत्वमा सम्पन्न प्रत्यारोपणमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बहुविषयगत टोली परिचालित भएको थियो।

    शल्यचिकित्सक टोलीमा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादव सहभागी हुनुहुन्थ्यो।

    एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट विभागीय प्रमुख डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सन्देश खाउजु र डा. रिती फुँयाल खटिनुभएको थियो।

    रेडियोलोजी विभागबाट विभागीय प्रमुख डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जी. एलीन र इन्दु घिमिरे सहभागी हुनुहुन्थ्यो।

    कार्डियोलोजी विभागबाट विभागीय प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछाने सहभागी हुनुहुन्थ्यो।

    प्याथोलोजी विभागबाट विभागीय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता घिमिरे तथा ल्याब इन्चार्ज विन्दिरा जोशी खटिनुभएको थियो।

    ग्यास्ट्रोएन्टेरोलोजी विभागबाट विभागीय प्रमुख डा. कर्ण राजवंशी र डा. शेखर पौड्याल सहभागी हुनुहुन्थ्यो।

    नर्सिङ सेवातर्फ निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना केसी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति केसी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, सीता मैयाँ अवाल, अर्पना सेन र जयन्ती ताम्राकारले सेवा प्रदान गर्नुभएको थियो।

    शल्यकक्ष (ओटी) व्यवस्थापनतर्फ अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेशराम कोजु सक्रिय रहनुभएको थियो।

    पोषण तथा पुनःस्थापना सेवातर्फ डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिस्ट शोनी शिख्वाल प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्थ्यो।

    व्यवस्थापकीय जिम्मेवारी उपसचिव रामप्रसाद आचार्य, जयकुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले सम्हाल्नुभएको थियो।

    प्रत्यारोपण समन्वयको जिम्मेवारी डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु र पूजा खड्काले निर्वाह गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार