काठमाडौँ, १ असोज । ललितपुर भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ ।
च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको गत ४ भदौमा कलेजो प्रत्यारोपण गरिएको हो । व्यन्जनकार स्वास्थ्य लाभ पछि गत २३ भदौमै डिस्चार्ज भइसक्नुभएको छ ।

अस्पतालका अनुसार प्रत्यारोपणका लागि श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गर्नुभएको थियो ।
व्यञ्जनकार विगत ८ वर्ष देखि कलोजो रोग लागेको थियो ।
“मेलै मदिरा सेवन गरेकै कारण मेरो कलेजो बिग्रिएको हो । बिरामी भएर पटक पटक बेहोस हुँदा विभिन्न अस्पतालमा जचाएँ, तर कलेजो पुरै विग्रिइसकेको कारण प्रत्यारोपण नै गर्नुप¥यो,’ व्यञ्जनकारले भन्नुभयो ।
व्यञ्जनकारले प्रत्यारोपणका लागि भारत जाने सोच बनाउनुभएको थियो । तर नेपाल मेडिसिटीमा चिकित्सकलाई भटेर सल्लाह लिएपछि यहीँ प्रत्यारोपण गर्ने निधो गर्नुभएको हो ।
“भारतको डाक्टरसँग सल्लाह लिँदा नेपालमै उत्कृष्ठ प्रत्यारोपण गर्न सकिने थाहा पाएँ । भारतमा जाँदा ज्यादा खर्च लाग्ने, बस्न तथा यातायातको दुविधा, भाषामा आउने कठिनाई सम्झिएर पनि मेडिसिटीमै उपचार गर्ने निर्णय गरेको हो, ” व्यञ्जनकारले भ्रन्नुभयो ।
यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा। उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा। रामबाबु साह, डा। सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा अपूर्व शर्मा, डा निराजन महासेठ, वरिष्ठ रेडियोलोजिस्ट प्राडा राम कुमार घिमिरे सहितको टोलीले सघाएको हो ।
“नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन । नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा प्रदान गर्दै, यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडेको छ ,” कलेजो प्रत्यारोपण सर्जन, डा रामबाबु साहले बताउनुभयो ।
यसअघि गत ८ जेठमा मेडिसिटीले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । त्यसबेला पोखराका ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको थियो ।