शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुने
काठमाडौँ, २८ पुस । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तीन बर्षीय बालकको कलेजो प्रत्यारोपण भएको छ ।
तिन बर्षीया बालकका लागि उनकी ३० बर्षीया आमाले कलेजो दान गरेकी हुन् ।
केन्द्रका निर्देशक तथा प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा पर्साका बीरगञ्जका बालकको कलेजो प्रत्यारोपण भएको हो ।
‘ती बालकलाई कलेजोको क्यान्सर (हेपाटो ब्लास्टोमा) भएको थियो । अभिभावकले उपचारको लागि बालकलाई लिएर भारत लगेका थिए ।
प्रत्यारोपणका लागि ठूलो रकम खर्च हुने भनिएपछि पुन नेपाल फर्केका थिए । केन्द्रमा आएपछि कलेजो प्रत्यारोपण गरिएको हो।
डा.श्रेष्ठका अनुसार अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।
प्रत्यारोपणका लागि सघाउन भारतको दिल्लीस्थित म्याक्स अस्पतालका डाक्टर सुवास गुप्ताको टोली पनि आएको छ ।
श्रेष्ठका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यो साता लगातार चारवटा कलेजो प्रत्यारोपण गर्ने योजना बनाएको छ । ‘शुक्रबार तीन वर्षीय बालकको प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिदै उनले शनिबार र आइतबार र सोमबार गरि थप तीन जनाको कलेजो प्रत्यारोपण गरिने बताए ।
प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो ।
तिन वर्षिया सहित हालसम्म सो केन्द्रमा १७ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
‘कलेजो प्रत्यारोपण अंग प्रत्यारोपणमा सबैभन्दा जटिल मानिन्छ। हामीकहाँ कलेजो प्रत्यारोपण सुरु गरेको धेरै भएको छैन। गरेको प्रत्यारोपणको धेरै केश पनि भइसकेको छैन। त्यसैले बिरामीको पूर्ण सुरक्षाका लागि भनेर हामीले भारतबाट विज्ञहरुलाई बोलाउने गरेका छौँ। हाम्रो टिम पूर्ण रुपमा सक्षम भएपछि यो क्रम हटने छ,’ डा. श्रेष्ठले भने।
कलेजो प्रत्यारोपण सबैभन्दा जटिल मानिन्छ ।