कलेजो प्रत्यारोपणमा आत्मनिर्भर उन्मुख नेपाल
काठमाडौँ २९ असोज । देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ ।
काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनीलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी थिईन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहित प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिए ।
यो संगै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ ।

संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।
केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको छ ।
पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपणविज्ञ डा श्रेष्ठले बताए ।
अंगदाता र ग्रहणकर्ता दुबैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।
कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।
केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समते अनुरोध गरेको छ ।
