काठमाडौं, २८ साउन। जलनबाट प्रभावित व्यक्तिको उपचार तथा पुनर्स्थापनालाई व्यवस्थित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कानुनी व्यवस्था अघि बढाएको छ।
मन्त्रालयले यससम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा सर्वसाधारणसँग राय, सुझाव र टिप्पणी माग गरेको छ।
मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक सुझाव आह्वान गरेको हो। मन्त्रालयको कानून शाखाले मस्यौदा अध्ययन गरी आवश्यक सुधारका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।
जलनका घटना भएपछि प्रभावित व्यक्तिले तत्काल उपचारदेखि दीर्घकालीन पुनर्स्थापनासम्म विभिन्न समस्या सामना गर्नुपर्ने भएकाले यस क्षेत्रलाई कानुनी रूपमा व्यवस्थित गर्न विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मस्यौदामाथि प्राप्त हुने सुझावका आधारमा आवश्यक संशोधन तथा परिमार्जन गरिनेछ। त्यसपछि विधेयकलाई प्रचलित कानुनी प्रक्रियाअनुसार अघि बढाइनेछ।
मन्त्रालयको कानून शाखाले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन तथा नियमावली निर्माण, संशोधन तथा आवश्यक कानुनी राय उपलब्ध गराउने कार्य गर्दै आएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार विधेयकमाथि भदौ ३ गतेसम्म राय, सुझाव तथा टिप्पणी पठाउन सकिनेछ। सम्बन्धित सरोकारवाला, स्वास्थ्यकर्मी, विज्ञ तथा सर्वसाधारणले समेत मस्यौदा अध्ययन गरी आफ्ना सुझाव उपलब्ध गराउन सक्ने मन्त्रालयले जनाएको छ।
सुझाव तथा टिप्पणी मन्त्रालयको कानून शाखाको तोकिएको इमेल law.section@mohp.gov.np मार्फत पठाउन सकिनेछ।