अङ्गदानको घोषणा गर्नेको सङ्ख्या दुई हजार ७९९ पुग्यो
भक्तपुर,२८ साउन । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरका तीन सांसदसहित नौ जनाले मृत्युपछि अङ्गदान गर्ने घोषणा गर्नुभएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले मृत्युपछि आफ्नो अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।
भक्तपुरका सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गङ्गालक्ष्मी अवाल तथा पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डेसहित नौ जनाले अङ्गदानको घोषणा गर्नुभएको हो ।
उहाँहरुलाई केन्द्रकी कार्यकारी निर्देशक डा.कल्पनाकुमारी श्रेष्ठले अङ्गदानको प्रमाणपत्र वितरण गर्नुभयो ।

यससँगै नेपालमा मस्तिष्क मृत्यु भएपछि अङ्गदान गर्ने मञ्जुरी दिने व्यक्तिको सङ्ख्या दुई हजार ७ सय ९९ पुगेको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले जीवित दाताबाट अङ्ग लिएर प्रत्यारोपण गर्दा दाता र ग्रहणकर्ता दुवैको उपचार तथा व्यवस्थापनमा बढी खर्च हुने भएकाले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान हुने प्रणालीलाई विस्तार गर्नुपर्ने बताउनुभयो।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान हुन सके प्रत्यारोपणको खर्चसमेत तुलनात्मक रूपमा कम हुने र जीवित व्यक्तिबाट अङ्ग निकाल्नुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनुभयो। अङ्गदान तथा प्रत्यारोपण सेवा विस्तारका लागि केन्द्रलाई आवश्यक जग्गा र भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने मागसमेत उहाँले गर्नुभयो।

कार्यक्रममा केन्द्रका प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठले नेपालमा मिर्गौला रोगको समस्या बढ्दै गएको बताउनुभयो। मिर्गौला फेल भएका धेरै बिरामी उपचारको पहुँचमा रहे पनि अङ्गको अभावका कारण कतिपयले ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो।
मिर्गौला रोगको पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतना विस्तार गर्नुपर्ने बताउँदै डा. श्रेष्ठले अङ्गदानको महत्वबारे पनि व्यापक रूपमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो। यस्ता जनचेतनामूलक कार्यक्रमले अङ्गदानप्रति सकारात्मक धारणा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
उहाँले केन्द्रको भौतिक पूर्वाधार विकाससँगै स्वास्थ्यकर्मी तथा कर्मचारीको वृत्ति विकासमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा सांसद राजीव खत्रीले अङ्गदानसम्बन्धी जनचेतना विस्तारका लागि आफूले निरन्तर पहल गर्ने बताउनुभयो। अङ्गदानको माध्यमबाट नेपाली नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
सांसद रुकेश रञ्जितले नेपालमा अङ्ग प्रत्यारोपण सेवा विस्तारका लागि सातवटै प्रदेशमा प्रत्यारोपण केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो। अङ्गको अभावमा उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न राज्यले प्रत्यारोपण सेवामा थप लगानी गर्नुपर्ने उहाँको भनाइ थियो।
सांसद गङ्गालक्ष्मी अवालले अङ्गदान अरूको जीवन बचाउने पुण्य कार्य भएको बताउनुभयो। अङ्गदानप्रति समाजमा रहेका नकारात्मक धारणा हटाउन व्यापक जनचेतना आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले अङ्गदानलाई मृत्यु पश्चात् पनि अरूलाई जीवन दिने मानवीय कार्यका रूपमा बुझ्नुपर्ने बताउँदै अङ्गदानको संस्कार विकास गर्न सबै पक्षले योगदान गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार तथा अङ्गदान प्रक्रियामा संलग्न अस्पताललाई विशेष सम्मान गरिएको थियो। अङ्गदान गर्ने निर्णय लिनुभएका परिवारको योगदानले अन्य व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँहरूको सम्मान गरिएको हो।
विश्व अङ्गदान दिवसका अवसरमा आयोजित कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो। कार्यक्रममा जीवित दाता तथा मस्तिष्क मृत्यु पश्चात् हुने अङ्गदान र प्रत्यारोपणका विषयमा जानकारीसमेत प्रदान गरिएको थियो।