काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् ।
नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।
काठमाडाैकी १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट निकालिएको नर्भिक अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो । यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपनि इण्डेस्कोपी गरी बिनाशल्यक्रिया निकालिएको नर्भिक अस्पतालले जनाएको छ ।
डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गर्नुभएको छ । डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी बिना शल्यक्रिया नै निकाल्दै आएको छ ।
‘साइक्ट्रेकि इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको डा.कुँवरले बताउनुभयो । वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ ।’ डा. कुँवरले भने–‘आमाशयमा गएर अड्किएको रहेछ । आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं ।’
आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो । आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ ।