हुम्ला । उच्च रक्तचापका कारण गम्भिर अवस्थामा पुग्नुभएकी गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । अति दुर्गम भनेर चिनिने हुम्ला अस्पतालमा २६ वर्षकी संगिता शाहीको जटिल शल्यक्रिया भएको हो ।
३८ हप्ताकी गर्भवती शाहीको गर्भमा जुम्ल्याहा शिशु थिए । उच्च रक्तचापका कारण टाउको दुख्ने, वान्ता हुने भएपछि संगिताको आकस्मिक शल्यक्रिया गरिएको हो । समयमै शल्यक्रिया नभएको अवस्थामा आमा र बच्चालाई बचाउन गाह्रो हुन्थ्यो । शल्यक्रियामा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडीजिपी डा.क्रिशान्त भण्डारीले दुईमध्ये एउटा बच्चा सुल्टो र अर्काे उल्टो अवस्थामा रहेको थियो । अहिले आमा र शिशु दुबै स्वस्थ छन् । दुई शिशुमध्ये छोरीको तौल २ किलो र छोराको तौल २ किलो ९ सय ग्राम रहेको छ ।
स्रोत,साधन र जनशक्ति भए स्थानीय गाउँ–ठाउँमै बिरामीले सहज र सुलभ तरिकाले उपचार पाउने छन् । यदि हुम्लामा स्रोत साधन नभएको भए संगितालाई हेलिकप्टरमा अन्यत्र सुविधासम्पन्न अस्पताल लैजानपर्ने चिकित्सकको भनाई छ ।
डेढ घण्टा लगाएर गरिएको संगिताको शल्यक्रियामा डा. रोशन खनाल, डा.कैलाशा लामा, डा.देव गजमेर, डा.सुनिलसिंह पुजारा, एनेष्थेसियामा फिर्दोस महर्जन र नर्स निमा लामा सहभागी हुनुहुन्थ्यो ।