• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    औषधिको समुचित प्रयोगबारे २३ देशका विज्ञ काठमाडौँमा भेला हुँदै

    औषधिको समुचित प्रयोगबारे २३ देशका विज्ञ काठमाडौँमा भेला हुँदै

    बुधबार, मंसिर २ २०८३
    बुधबार, मंसिर २ २०८३
    औषधिको समुचित प्रयोगबारे २३ देशका विज्ञ काठमाडौँमा भेला हुँदै

    काठमाडौँ, २ मंसिर । औषधिको समुचित प्रयोगबारे २३ देशका विज्ञ काठमाडौँमा भेला हुने भएका छन् ।  औषधिको अनुचित प्रयोग, एन्टिबायोटिक प्रतिरोध र औषधि उपचारको प्रभावकारितासम्बन्धी बढ्दो चुनौतीबिच औषधिको तर्कसङ्गत प्रयोग प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय विज्ञहरू काठमाडौँमा भेला हुने भएका हुन् ।

    अन्तर्राष्ट्रिय औषधि प्रयोग सुधार समाज (आईएसआईयुएम) को आयोजनामा तेस्रो आईएसआईयुएम अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौँमा सुरु हुँदैछ । नोभेम्बर १९ देखि २१ तारिखसम्म तीन दिन सञ्चालन हुने सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना विज्ञ, अनुसन्धानकर्ता तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

    ‘परिवर्तित विश्वमा औषधिको उचित प्रयोग’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा औषधिको प्रयोगलाई कसरी सुरक्षित, प्रभावकारी र तर्कसङ्गत बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

    नेपाल फार्मेसी परिषद्का अध्यक्षसमेत रहनुभएका सम्मेलनको स्थानीय आयोजक समितिका अध्यक्ष डा.कादिर आलमले सम्मेलनले औषधिको उचित प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धान र अभ्यास आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने जानकारी दिनुभयो ।

    उहाँका अनुसार सम्मेलनमा औषधिको प्रयोगको अवस्था र उपयुक्तता मापन गर्ने विधि, कृत्रिम बौद्धिकता (एआई)को उपयोग तथा औषधिसम्बन्धी सूचना प्रणालीका विषयमा विशेष कार्यशाला सञ्चालन गरिनेछ । औषधिको प्रयोग सुधारका लागि विभिन्न देशले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे पनि छलफल हुनेछ ।

    सम्मेलनका विभिन्न सत्रमा औषधि प्रयोगको गुणस्तर मूल्याङ्कन गर्ने अनुसन्धान विधि, स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग र औषधि उपचारको प्रभावकारिता अभिवृद्धिका उपायबारे विज्ञहरूले आफ्ना अनुभव तथा अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम छ ।

    पछिल्लो समय औषधिको अनावश्यक प्रयोग, चिकित्सकको सल्लाहबिना औषधि सेवन, एन्टिबायोटिकको दुरुपयोग तथा औषधि प्रतिरोध विश्व स्वास्थ्य क्षेत्रका गम्भीर चुनौतीका रूपमा देखिएका छन् । विशेषगरी एन्टिबायोटिकको जथाभावी प्रयोगले औषधिले काम नगर्ने अवस्था बढ्दै जाँदा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्ने जोखिम बढेको छ ।

    औषधिको उचित प्रयोग भन्नाले बिरामीको स्वास्थ्य अवस्थाअनुसार आवश्यक औषधि, उपयुक्त मात्रा, सही समय र आवश्यक अवधिसम्म प्रयोग गर्नु हो । औषधिको गलत प्रयोगले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै उपचार खर्च बढाउने र स्वास्थ्य प्रणालीमाथि थप आर्थिक भार सिर्जना गर्ने गर्छ ।

    यस्ता चुनौती न्यूनीकरण गर्न चिकित्सक, फार्मासिस्ट, नर्स, अनुसन्धानकर्ता, औषधि नियामक निकाय तथा नीतिनिर्माताबीच सहकार्य आवश्यक मानिन्छ । औषधिको प्रयोगसम्बन्धी तथ्याङ्कको विश्लेषण, प्रमाणमा आधारित उपचार पद्धति र नयाँ प्रविधिको उपयोगले औषधि प्रयोग सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

    सम्मेलनमा औषधिको उचित प्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था, अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा डिजिटल प्रविधिको सम्भावनाबारे पनि छलफल हुनेछ । अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने अनुभव आदानप्रदानले नेपालको औषधि प्रयोगसम्बन्धी नीति, अभ्यास र स्वास्थ्य सेवा सुधारमा समेत योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ ।

    तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नुका साथै औषधि उपचारमा देखिएका समसामयिक चुनौती समाधानका उपाय पहिचान गर्न सहयोग पुग्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार