काठमाडौँ, २२ साउन । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुलाएको छ।
आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै प्रवेश परीक्षामा सहभागी हुन योग्यता पुगेका इच्छुक उम्मेदवारले साउन २५ गते बिहान ९ बजेदेखि भदौ १५ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने जनाएको छ।
निर्धारित अवधिभित्र आवेदन दिन नसकेका उम्मेदवारले भदौ १५ गते साँझ ५ बजेदेखि भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार यस वर्ष एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, आयुर्वेद चिकित्सा स्नातक, बी. फार्मेसी, जनस्वास्थ्य स्नातक लगायत चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरिनेछ।
प्रत्येक शैक्षिक कार्यक्रममा आवेदन दिनका लागि आवश्यक शैक्षिक योग्यता, न्यूनतम प्राप्ताङ, विषयगत योग्यता तथा अन्य मापदण्ड आयोगले प्रकाशित गरेको प्रवेश परीक्षा कार्यतालिका र निर्देशिकामा उल्लेख गरिएको छ।
आयोगले नेपाली विद्यार्थीका लागि आवेदन दस्तुर चार हजार रुपैयाँ तथा विदेशी विद्यार्थीका लागि आठ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।
आयोगले प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित अनलाइन आवेदन पेश गर्न तथा आवेदन गर्नुअघि आयोगले प्रकाशित गरेको सूचना र निर्देशिकालाई ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरेको छ।