सेता कोटेहरु धमाधम कुटिन थाले !
सिकिस्त बिरामीको उपचार गर्दा-गर्दै ज्यान गयो भने
स्वास्थ्यकर्मी आफै मरणासन्न हुने गरि चुटिन थाले !
कस्तो समाज बनायौँ हामीले ?
दुर्गममा सेवा गर्न पुगेका
चिकित्सक र स्वास्थ्यकर्मिले
ज्यानको रक्षाका लागी
राज्यसंग पुकार गर्न थाले !
कहिले डाक्टर कहिले नर्स सत्याग्रह बस्नुपर्ने !
कहिले ब्यापारी कहिले राइडरले आत्मदाह गर्नुपर्ने !
कस्तो देश बनायौँ हामीले ?
न्याय र सुशासनको लागि सबैले राज्यसंग हार गुहार गर्न थाले !
खल्तीमा पैसा नहुनेले सहज उपचार पाउने कहिले ?
क्यान्सर पीडित श्रीमतीलाई पिठ्युँमा बोकेर
बा आमासंगै सति जान थाले !
आर्थिक संकट र झन्झटिलो उपचारसंग बिरक्तिएर आमनागरिकहरु
नदीबाट हामफाल्न थाले !
कस्तो स्वास्थ्य प्रणाली बनायौँ हामीले ?
नागरिकलाई स्वास्थ्य उपचार सकस नबनोस
स्वास्थ्यकर्मीलाई पेशा त्रास नबनोस
आशाको दियो निभ्न नदिन
राज्यसंग नागरिकले बिन्ती गर्न थाले !
(मेनुका पोख्रेल `पारिजात´ नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्य हुनुहुन्छ ।)