• सोमबार, २६ असोज २०८३
  • images

    पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण, ६३ वर्षीया महिलाको शल्यक्रिया

    पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण, ६३ वर्षीया महिलाको शल्यक्रिया

    शनिबार, असोज २४ २०८३
    शनिबार, असोज २४ २०८३
    पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण, ६३ वर्षीया महिलाको शल्यक्रिया

    काठमाडौँ, २४ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण सेवा सुरु भएको छ । विश्व दृष्टि दिवसको अवसर पारेर अस्पतालको आँखा रोग विभागले ६३ वर्षीया महिलाको कोर्निया प्रत्यारोपण गरेको हो ।

    आँखाको पारदर्शी बाहिरी तह अर्थात् कोर्नियामा समस्या देखिएर दृष्टि प्रभावित भएकी महिलाको शल्यक्रिया कोर्निया विशेषज्ञ डा. अनिमा देशारको नेतृत्वमा गरिएको हो । ती महिला ‘प्सुडोफ्याकिक बुलस केराटोप्याथी’ समस्याबाट पीडित हुनुहुन्थ्यो । यो समस्या आँखामा कृत्रिम लेन्स राखिएपछि कोर्नियाको कार्यक्षमतामा असर पुग्दा देखिन सक्छ । यसले कोर्नियामा सुन्निने समस्या उत्पन्न गर्नुका साथै दृष्टि कमजोर बनाउन सक्छ ।

    शल्यक्रियामा डा. देशार मुख्य शल्यचिकित्सकका रूपमा सहभागी हुनुहुन्थ्यो । साङ्गिरुवा र क्रिस्टीले शल्यक्रियामा सहयोग गर्नुभएको थियो । त्यस्तै, डा. सुमित सिंह महर्जनले रेट्रोबल्बार ब्लक विधिबाट शल्यक्रियाका लागि आवश्यक बेहोस बनाउने सेवा प्रदान गर्नुभएको थियो ।

    शल्यक्रियामा रेजिडेन्ट चिकित्सकहरू डा. प्राप्ति, डा. प्रभा, डा. प्रियंका, डा. निशा र प्रदीप पटेलसहित आँखा रोग विभागका अन्य चिकित्सकहरूको सहभागिता थियो ।

    अस्पतालको आँखा रोग विभाग प्रमुख डा. रञ्जना शर्मासहित डा. पवन महत, डा. निशा श्रेष्ठ राजभण्डारी र विभागका अन्य चिकित्सकले पनि कोर्निया प्रत्यारोपण सेवा सुरु गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको अस्पतालले जनाएको छ ।

    कोर्नियामा गम्भीर क्षति पुगेर दृष्टि प्रभावित भएका बिरामीको उपचारमा प्रत्यारोपण प्रभावकारी विधि मानिन्छ । कोर्नियाको पारदर्शिता वा कार्यक्षमता गुमेका अवस्थामा उपयुक्त बिरामीलाई दाताबाट प्राप्त स्वस्थ कोर्निया प्रत्यारोपण गरेर दृष्टिमा सुधार ल्याउने प्रयास गरिन्छ ।

    पाटन अस्पतालमा यो सेवा सुरु गर्न सहयोग पुर्‍याएको भन्दै अस्पतालको टोलीले नेपाल आँखा बैंक तथा आँखा दान गर्ने दाताप्रति आभार व्यक्त गरेको छ । आँखा दान गर्ने व्यक्तिको निर्णय र दाताको परिवारको सहयोगले दृष्टिसम्बन्धी समस्या भएका बिरामीको उपचारमा महत्त्वपूर्ण योगदान पुग्ने चिकित्सकहरूको भनाइ छ ।

    विभाग प्रमुख डा. शर्माका अनुसार पाटन अस्पतालमा मोतिबिन्दु, जलबिन्दु, आँखाको पर्दासम्बन्धी समस्या तथा अन्य जटिल अवस्थाको उपचार र शल्यक्रिया सेवा उपलब्ध छ । कोर्निया प्रत्यारोपण सेवा थपिएसँगै अस्पतालबाट प्रदान गरिने आँखा उपचारको दायरा विस्तार भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार