• सोमबार, २६ असोज २०८३
  • images

    पाँच करोडभन्दा बढीले लिए आँखा उपचार सेवा

    पाँच करोडभन्दा बढीले लिए आँखा उपचार सेवा

    शनिबार, असोज २४ २०८३
    शनिबार, असोज २४ २०८३
    पाँच करोडभन्दा बढीले लिए आँखा उपचार सेवा

    काठमाडौँ, २४ असोज । नेपालमा अन्धोपनको दर उल्लेख्य रूपमा घट्दै गएको छ तर आँखासम्बन्धी रोगको स्वरूप परिवर्तन हुँदै जाँदा उपचार सेवाको विस्तारले मात्र दृष्टि जोगाउन नसकिने अवस्था देखिएको छ । 

    नेत्र स्वास्थ्यका क्षेत्रमा संलग्न विज्ञले आँखाको समस्या जटिल बनेपछि अस्पताल पुग्ने प्रवृत्तिको अन्त्य गर्दै नियमित परीक्षण, समयमै पहिचान र रोग लाग्नै नदिने उपायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । नेपालमा सन् १९८१ मा अन्धोपन ०.८४ प्रतिशत रहेकामा सन् २०२२ को दृष्टि अवस्थासम्बन्धी सर्वेक्षणमा घटेर ०.२८ प्रतिशतमा पुगेको छ । आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ जनशक्ति तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले अन्धोपन न्यूनीकरणमा उल्लेख्य योगदान पुगेको नेपाल नेत्रज्योति सङ्घले जानकारी दिएको छ । 

    ग्लुकोमा आँखाको पर्दासम्बन्धी समस्या, मधुमेहका कारण हुने दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोष बढ्दै गएका छन् । बढ्दो औसत आयु, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको अत्यधिक प्रयोगले समेत आँखाको स्वास्थ्यमा थप जोखिम सिर्जना गरेको छ । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले दृष्टि जोगाउने विषयलाई अस्पताल पुगेपछि गरिने उपचारमा मात्र सीमित गर्न नहुने बताउनुभयो । उहाँले आँखामा समस्या देखिएपछि मात्र उपचार खोज्ने प्रवृत्तिभन्दा नियमित परीक्षण र सुरुवाती अवस्थामै रोग पहिचान गर्ने प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

    सङ्घका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखाको स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहसँग जोडेर लैजानुपर्ने बताउनुभयो । उहाँले समुदायस्तरमै प्रारम्भिक परीक्षण, आवश्यकता अनुसार विशेषज्ञ सेवामा पठाउने व्यवस्था तथा जोखिममा रहेका समूहको नियमित परीक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, मधुमेह भएका व्यक्ति तथा आँखासम्बन्धी जोखिममा रहेका व्यक्तिको नियमित परीक्षण अझ महत्वपूर्ण हुन्छ । 

    नेपालमा आँखा उपचार सेवाको पहुँच विस्तारमा नेपाल नेत्रज्योति सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सङ्घ स्थापना भएको सन् १९७८ मा सीमित पूर्वाधार र जनशक्तिबाट सुरु भएको आँखा सेवा अहिले देशका विभिन्न भूगोलमा विस्तार भएको छ ।  डा. मिश्रले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाले आँखा उपचार सेवा लिइसकेको जानकारी दिँदै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । हाल सङ्घ अन्तर्गत २८ आँखा अस्पताल र ४४ जिल्ला शाखामार्फत २२६ उपचार केन्द्र सञ्चालनमा रहेका छन् । 

    (गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेख्नुभएको समाचार)

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार