• सोमबार, २५ साउन २०८३
  • images

    आँखा स्वास्थ्यमा अतुलनीय योगदान गरेको भन्दै नेत्रज्योति संघलाई डब्लुएचओको सम्मान

    आँखा स्वास्थ्यमा अतुलनीय योगदान गरेको भन्दै नेत्रज्योति संघलाई डब्लुएचओको सम्मान

    आइतबार, साउन २४ २०८३
    आइतबार, साउन २४ २०८३
    आँखा स्वास्थ्यमा अतुलनीय योगदान गरेको भन्दै नेत्रज्योति संघलाई डब्लुएचओको सम्मान

    काठमाडौं, २४ साउन। नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा आर्थिक र भौगोलिक रूपमा पछाडि परेका समुदायसम्म आँखा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयको प्रतिष्ठित ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड–२०२६’ प्राप्त गर्ने भएको छ ।

    नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा करिब पाँच दशकदेखि निरन्तर सेवा गर्दै आएको संघलाई सार्वजनिक स्वास्थ्य विधाअन्तर्गत उक्त सम्मान प्रदान गर्न लागिएको हो । 
    संघले समुदायस्तरमा आँखा उपचार सेवा विस्तार गर्नुका साथै उपचारको पहुँचबाट बाहिर रहेका नागरिकसम्म सेवा पुर्‍याउन खेलेको भूमिकालाई डब्लुएचओले सम्मानको प्रमुख आधार बनाएको छ ।

    डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कमिटीको ७९औँ बैठक आगामी असोजमा आयोजना हुँदैछ । सोही बैठकमा संघलाई अवार्ड प्रदान गरिने क्षेत्रीय कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस वर्ष सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्योति संघसँगै थाइल्यान्डका डा. नित्ताया फानुफाक र भारतका डा. के. सुरेशकुमार पनि सम्मानका लागि छनोट भएका छन् ।

    नेपालमा आँखा स्वास्थ्य सेवा विस्तारको सुरुआती चरणदेखि नै सक्रिय रहँदै आएको संघले पछिल्ला दशकमा देशका विभिन्न भागमा आँखा अस्पताल तथा उपचार केन्द्र विस्तार गरेको छ । समुदायमै पुगेर गरिने आँखा परीक्षण, उपचार तथा शल्यक्रिया शिविरदेखि दुर्गम तथा सेवा पहुँच न्यून भएका क्षेत्रका नागरिकलाई लक्षित कार्यक्रमसम्म संघका गतिविधि केन्द्रित छन् ।

    संघले प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई जोड्ने प्रयाससमेत गर्दै आएको छ । यसबाट उपचारका लागि ठूला सहरसम्म आउन नसक्ने नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउन सहयोग पुगेको संघको भनाइ छ ।

    संघका अध्यक्ष प्राडा. चेतराज पन्तका अनुसार हालसम्म संघमार्फत पाँच करोड दुई लाख ४८९ जनाले आँखा उपचार सेवा लिएका छन् । यस अवधिमा ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

    हाल संघअन्तर्गत देशका विभिन्न स्थानमा २८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । त्यस्तै, ४४ जिल्ला शाखाअन्तर्गत २२६ वटा आँखा उपचार केन्द्रबाट सेवा प्रवाह भइरहेको संघले जनाएको छ । यी संस्थामार्फत नेपाली नागरिकका अतिरिक्त विभिन्न मुलुकबाट आउने सेवाग्राहीले समेत आँखा उपचार सेवा लिँदै आएका छन् ।

    संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले आँखा स्वास्थ्य सेवालाई समुदायको आवश्यकता र सहभागितासँग जोडेर अघि बढाइएको बताउनुभयो ।

    “समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ काम गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै निःशुल्क तथा सहुलियतपूर्ण उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएका छौँ ।”

    नेपालमा अन्धोपन न्यूनीकरणमा भएको प्रगतिलाई पनि डब्लुएचओले महत्वपूर्ण उपलब्धिका रूपमा हेरेको छ । डब्लुएचओका अनुसार सन् १९८१ मा नेपालमा अन्धोपनको दर ०.८४ प्रतिशत थियो । सन् २०२०/२१ सम्म आइपुग्दा उक्त दर घटेर ०.२८ प्रतिशतमा झरेको छ ।

    डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका अनुसार सार्वजनिक स्वास्थ्य विधामा यस वर्ष १०२ वटा मनोनयन परेका थिए । सार्वजनिक स्वास्थ्यमा प्रभाव, नवीनता, कार्यक्रमको विस्तार गर्न सकिने सम्भावना, दिगोपन तथा सेवामा समतामूलक पहुँचलगायतका सूचकलाई आधार बनाएर वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले मूल्याङ्कन गरेको थियो ।

    नेपाल नेत्रज्योति संघले पाउन लागेको अवार्डलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका क्षेत्रमा गरिएको लामो प्रयासको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिइएको छ ।

    संघका महासचिव भरतबहादुर चन्दले अवार्डलाई कुनै एक संस्था वा व्यक्तिको मात्र उपलब्धिका रूपमा नभई पाँच दशक लामो अभियानमा जोडिएका सबै पक्षको सामूहिक योगदानको सम्मानका रूपमा लिएको बताउनुभयो ।

    उहाँका अनुसार संघसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा उपचार केन्द्र, नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय र शुभेच्छुकहरूको निरन्तर सहयोगले यो उपलब्धि सम्भव हो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार