• बुधबार, २८ असोज २०८३
  • images

    उन्नाइस नेपालीसहित २४ कम्पनीका औषधिको अनुमति खारेज

    उन्नाइस नेपालीसहित २४ कम्पनीका औषधिको अनुमति खारेज

    मंगलबार, असोज २७ २०८३
    मंगलबार, असोज २७ २०८३
    उन्नाइस नेपालीसहित २४ कम्पनीका औषधिको अनुमति खारेज

    काठमाडौं, २७ असोज । औषधिको गुणस्तर, सुरक्षा र उत्पादनका क्रममा एक औषधिको पदार्थ अर्कोमा मिसिने जोखिम न्यूनीकरण गर्न औषधि व्यवस्था विभागले स्वदेशी तथा विदेशी २४ कम्पनीका इम्युनोसप्रेसेन्ट वर्गका ४७ औषधिको दर्ता तथा उत्पादन र पैठारीसम्बन्धी अनुमति खारेज गरेको छ ।

    विभागले असोज २७ गते सार्वजनिक गरेको सूचनाअनुसार खारेजीमा पर्नेमा १९ नेपाली, चार भारतीय र एक बंगलादेशी कम्पनीका औषधि छन् । सूचीमा विभिन्न ब्रान्ड र मात्रामा उपलब्ध ४७ औषधिको विवरण समावेश छ ।

    विभागका अनुसार सम्बन्धित औषधि उत्पादनका लागि आवश्यक छुट्टै उत्पादन संरचना अर्थात् ‘डेडिकेटेड फेसिलिटी’ नभएका कारण अनुमति खारेज गर्ने निर्णय गरिएको हो । यस्तो संरचना नहुँदा उत्पादनका क्रममा एक औषधिमा प्रयोग भएको पदार्थ अर्को औषधिमा मिसिन सक्ने जोखिम रहने भएकाले औषधिको गुणस्तर र सुरक्षाका लागि छुट्टै संरचना आवश्यक मानिन्छ ।

    विभागले यसअघि जेठ २१ गते सार्वजनिक सूचना जारी गर्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित कम्पनीलाई समय दिएको थियो । तोकिएको अवधि समाप्त भएपछि असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, बिक्री–वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिसपत्र खारेज गरिएको विभागले जनाएको छ ।

    नेपाली र विदेशी कम्पनीका औषधि सूचीमा

    खारेजीमा पर्ने विदेशी कम्पनीमा भारतका पानासिया बायोटेक फार्मा, इन्टास फर्मास्युटिकल्स, आरपीजी लाइफसाइन्सेस र माइक्रोल्याब्स तथा बंगलादेशको एस्कायफ फर्मास्युटिकल्स रहेका छन् ।

    सूचीमा इन्टासका माइकोफिट ५००, माइकोफिट एस ३६०, इन्टाज्याक तथा ट्याक्फा ०.५ र १; पानासियाका प्यानग्राफ ०.५ र १; आरपीजीका इम्युनोट्याक ०.५ र १ तथा मोफेटिल २५० र ५०० समावेश छन् । त्यस्तै, माइक्रोल्याब्सका सीग्राफ ०.५ र १ तथा माइकोफेन ५०० र एस्कायफको टोज्याक पनि सूचीमा परेका छन् ।

    नेपाली कम्पनीतर्फ डिभाइन ल्याबोरेटोरिज, मारुती फार्मा, फार्मोनिक्स लाइफसाइन्सेस, एसियन फर्मास्युटिकल्स, निभिक्स, प्राइम, नेपाल रेमेडिज, भेगा, मेड्रिक, ओम र सीटीएललगायत १९ कम्पनीका औषधि रहेका छन् ।

    विभागको सूचीमा टोफासिटिनिब, लेफ्लुनोमाइड, ट्याक्रोलिमस र माइकोफेनोलेटसम्बन्धी औषधि समावेश छन् । विवरणअनुसार नेपाली कम्पनीका ३२ र विदेशी कम्पनीका १५ औषधि सूचीमा परेका छन् । एउटै औषधिका फरक ब्रान्ड र मात्रालाई छुट्टाछुट्टै विवरणका रूपमा राखिएकाले कुल संख्या ४७ पुगेको हो ।

    आपूर्ति सहज बनाउन तीन महिनासम्मको व्यवस्था

    विभागले औषधिको आपूर्ति प्रभावित हुन नदिन जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिका हकमा बढीमा तीन महिनासम्मका लागि उत्पादन तथा पैठारी गर्न अनुमति दिने अस्थायी व्यवस्था पनि गरेको छ ।

    सम्बन्धित उत्पादक तथा पैठारीकर्ताले औषधि आयात गर्दा भन्सार प्रज्ञापनपत्रसहित मौज्दातको अद्यावधिक विवरण अनिवार्य रूपमा विभागमा बुझाउनुपर्नेछ । त्यस्ता औषधिको प्रयोगबाट प्रतिकूल असर देखिएमा औषधि प्रदान गर्ने निकाय वा व्यक्ति तथा प्रयोगकर्ताले जिम्मेवारी लिनुपर्ने व्यहोरा पनि विभागको सूचनामा उल्लेख छ ।

    छुट्टै उत्पादन संरचना भएका दर्तावाल उत्पादक तथा पैठारीकर्तालाई भने बजारमा औषधिको नियमित, पर्याप्त र सहज उपलब्धता सुनिश्चित गर्न विभागले निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार