काठमाडौं, २७ असोज । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउन सरकारले होटल तथा रेस्टुरेन्टको निगरानी र नियमनमा कडाइ गर्ने भएको छ ।
यात्राका क्रममा बासी, दूषित तथा गुणस्तरहीन खाना खानुपर्ने र खाद्य पदार्थको अस्वाभाविक मूल्य तिर्नुपर्ने गुनासो बढेपछि सम्बन्धित निकायले खाद्य स्वच्छता र मूल्य नियन्त्रणमा जोड दिएका हुन् ।
पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायका प्रतिनिधिबीच भएको छलफलपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुका लागि खाजा, नास्ता र खाना खान सवारी रोक्न निर्देशन दिएको छ ।
विभागले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनसमेत आग्रह गरेको छ । यस व्यवस्थाले यात्राका क्रममा यात्रुले सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।
खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरी उपलब्ध गराइएको खाना खाँदा यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक तथा होटल वा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
त्यस्तै, खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा कमी भएको वा मूल्यमा ठगी गरिएको पाइएमा यात्रुले नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गरी गुनासो गर्न सक्नेछन् ।
यात्रुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा समेत उजुरी दिन सक्ने विभागले जनाएको छ ।
सार्वजनिक यातायातमा यात्रा गर्ने नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै खाद्य स्वच्छता कायम गर्ने, गुणस्तरहीन खाद्य पदार्थको बिक्रीवितरण रोक्ने तथा यात्रुलाई अनुचित मूल्य तिर्नुपर्ने अवस्थाबाट जोगाउन सम्बन्धित निकायबीच समन्वय र अनुगमन आवश्यक रहेको देखिएको छ ।