प्रिय ज्योति रानाभाट बहिनी,
न्याय, सम्मान, सुरक्षित कार्य वातावरण र श्रमको उचित मूल्यको माग गर्दै सुरु गरिएको तिम्रो सत्याग्रह आज चौथो दिनमा प्रवेश गरेको छ।
यो कुनै व्यक्तिगत स्वार्थका लागि गरिएको आन्दोलन होइन। यो सम्पूर्ण नर्सिङ समुदायको पेशागत अधिकार, बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र देशको स्वास्थ्य प्रणाली सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको अभियान हो। तर दुःखको विषय, राज्यले अझै पनि यसको गम्भीरतालाई अपेक्षित रूपमा महसुस गर्न सकेको देखिँदैन।
तिमीले अघि सारेका १५ बुँदे मागहरू कुनै व्यक्तिको सुविधा वा पद प्राप्तिका लागि होइनन्।
ती मागहरूको मूल उद्देश्य नर्सिङ तथा प्रसूति सेवा सुदृढ बनाउने, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने, बिरामीको सुरक्षा सुनिश्चित गर्ने र नीतिगत सुधारमार्फत स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने हो। यी मागहरू सम्बोधन भएमा केवल नर्सिङ पेशाकर्मी मात्र होइन, देशभरका लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
नेपालमा चिकित्सक र बिरामीको अनुपात अझै पनि सन्तोषजनक छैन। दुर्गम तथा ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्तिको अभावले गुणस्तरीय सेवा पुर्याउन राज्यलाई निरन्तर चुनौती थपिरहेको छ। यस्तो अवस्थामा विशिष्टीकृत नर्स, उन्नत अभ्यास नर्स, विशिष्टीकृत प्रसूति सेवा प्रदायक तथा समुदायमा आधारित नर्स तथा प्रसूति सेवाको प्रभावकारी परिचालन गर्न सके स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा उल्लेखनीय सुधार आउन सक्छ।
राज्यले हरेक वर्ष नर्सिङ शिक्षामा ठूलो लगानी गरिरहेको छ। छात्रवृत्तिमार्फत दक्ष नर्सिङ जनशक्ति उत्पादन गरिरहेको छ। तर उत्पादन भएका दक्ष जनशक्तिलाई उनीहरूको क्षमता र दक्षताअनुसार जिम्मेवारी तथा अवसर दिन नसक्नु विडम्बना हो। स्वास्थ्य प्रणाली सुधारका सबै काम एकैपटक सम्भव नहुन सक्छन्, तर कम्तीमा अहिले प्रस्तुत गरिएका १५ बुँदे जायज मागहरू कार्यान्वयन गरेर नर्सिङ जनशक्तिको उचित परिचालन, व्यवस्थापन र जिम्मेवारी सुनिश्चित गर्न सकिन्छ। यहीबाट स्वास्थ्य प्रणाली सुधारको एउटा महत्वपूर्ण सुरुवात हुन सक्छ।
सत्याग्रहकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालमा भर्ना हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद विषय हो। कुनै पनि लोकतान्त्रिक राज्यमा आफ्ना जायज माग राख्दै सत्याग्रहमा बसेका नागरिकको स्वास्थ्य यसरी जोखिममा पर्नु चिन्ताको विषय हो। अझ पीडादायी कुरा त के छ भने, चार दिन बितिसक्दा पनि सम्बन्धित निकायबाट गम्भीर संवाद र समाधानको पहल देखिएको छैन।
हिजो सामाजिक सञ्जालमा तिमीले लेखेको एउटा भावुक अभिव्यक्तिले धेरैको मन छोयो—‘केही दिनमै मेरो तस्बिरमा फूलगुच्छा बोकेर श्रद्धाञ्जली दिन आउने भीड होला।’
यो वाक्य केवल एउटा भावनात्मक अभिव्यक्ति मात्र होइन, राज्यको मौनताप्रतिको गहिरो निराशा पनि हो। तर कसैले पनि यस्तो दुःखद अवस्था कल्पना गर्न नपरोस्। एउटा जीवनभन्दा ठूलो कुनै पनि प्रशासनिक प्रक्रिया वा निर्णय हुन सक्दैन।
आजको नेपाल विगतभन्दा फरक छ। अहिले सरकारमा शिक्षित, युवा र अनुभवी नेतृत्व रहेको दाबी गरिन्छ। प्रधानमन्त्री स्वयं प्राविधिक पृष्ठभूमिबाट आउनुभएको छ। स्वास्थ्य मन्त्री नर्सिङ क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तित्व हुनुहुन्छ। संसदमा पनि नर्सिङ पृष्ठभूमिका जनप्रतिनिधिहरूको उपस्थिति छ। सरकारका अन्य उच्च पदमा पनि स्वास्थ्य क्षेत्र बुझेका व्यक्तिहरू छन्।
यस्तो अवस्थामा पनि नर्सिङ क्षेत्रका यति आधारभूत र व्यावहारिक मागहरू किन सम्बोधन हुन सकेका छैनन् ? चार दिनसम्म पनि सरकार किन मौन छ ? यो प्रश्न केवल ज्योति रानाभाटको होइन, सम्पूर्ण नर्सिङ समुदायको हो। अझ त्योभन्दा ठूलो प्रश्न त देशको स्वास्थ्य प्रणालीसँग जोडिएको हो।
अहिले देशको ध्यान तराई–मधेसको अवस्था, समसामयिक राजनीतिक घटनाक्रम वा अन्तर्राष्ट्रिय कूटनीतिक विषयतर्फ केन्द्रित हुन सक्छ। तर त्यसले स्वास्थ्य प्रणालीसँग सम्बन्धित यस्ता महत्वपूर्ण विषयलाई पूर्ण रूपमा ओझेलमा पार्ने कारण बन्नु हुँदैन। किनभने स्वास्थ्य सेवा कुनै राजनीतिक मुद्दा होइन, यो नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय हो।
सरकारले समयमै संवाद, संवेदनशीलता र सकारात्मक निर्णयमार्फत यो सत्याग्रहको सम्मानजनक समाधान खोज्नुपर्छ। नर्सिङ जनशक्तिको उचित व्यवस्थापन, पेशागत सम्मान, सुरक्षित कार्य वातावरण र नीतिगत सुधार केवल नर्सहरूको हितका विषय होइनन्; यी सम्पूर्ण स्वास्थ्य प्रणालीलाई बलियो बनाउने आधार हुन्।
त्यसैले सरकारसँग आग्रह छ—यस आन्दोलनलाई व्यक्तिगत असन्तुष्टि वा सीमित पेशागत मागका रूपमा होइन, नेपालको स्वास्थ्य सेवा सुधार गर्ने अवसरका रूपमा हेरियोस्। सत्याग्रह लम्बिनु कसैको हितमा छैन। समयमै वार्ता, विश्वास र निर्णयमार्फत समस्याको समाधान खोज्नु नै जिम्मेवार राज्यको कर्तव्य हो।
धन्यवाद
पोख्रेल नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्य हुनुहुन्छ ।