• शनिबार, २३ साउन २०८३
  • images

    नर्स ज्योति रानाभाटको जिवनरक्षाको माग गर्दै प्रर्दशन

    नर्स ज्योति रानाभाटको जिवनरक्षाको माग गर्दै प्रर्दशन

    सोमबार, साउन १८ २०८३
    सोमबार, साउन १८ २०८३
    नर्स ज्योति रानाभाटको जिवनरक्षाको माग गर्दै  प्रर्दशन

    काठमाडौं, १८ साउन। नर्सिङ क्षेत्रका विभिन्न समस्या समाधान तथा पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनरत नर्सहरूले आइतबार वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। 

    नर्सिङ पेशामा देखिएका श्रमशोषण, न्यून पारिश्रमिक तथा असुरक्षित कार्य वातावरणको अन्त्य गर्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

    नर्स ज्योति रानाभाटले नर्सिङ क्षेत्रको सुधारका लागि सुरु गर्नुभएको आमरण अनशन पाँचौँ दिनमा प्रवेश गरेका बेला देशका विभिन्न अस्पतालमा कार्यरत नर्सहरूले वीर अस्पतालमा भेला भई ऐक्यबद्धता जनाएका हुन्।

    प्रदर्शनमा सहभागी नर्सहरूले न्यूनतम पारिश्रमिकको कानुनी सुनिश्चितता, श्रमशोषणको अन्त्य, सुरक्षित तथा सम्मानजनक कार्य वातावरण, सेवा–सुविधाको सुधार, पेशागत अधिकारको संरक्षण तथा नर्सिङ क्षेत्रको समग्र सुधार लगायतका १५ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

    उनीहरूले ‘१५ बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाऊ’,न्यायमा ढिलाइ, जीवनमा जोखिम, नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

    प्रदर्शनमा सहभागी नर्सहरूले नर्सिङ सेवा स्वास्थ्य प्रणालीको आधारभूत स्तम्भ भए पनि श्रमको उचित मूल्याङ्कन हुन नसकेको, न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था कायम रहेको तथा निजी स्वास्थ्य संस्थामा कार्यरत धेरै नर्स श्रमशोषणको मारमा परेको गुनासो गरेका छन्। उनीहरूले नर्सहरूको पेशागत मर्यादा, सुरक्षित कार्य वातावरण र श्रम अधिकार सुनिश्चित नगरी गुणस्तरीय स्वास्थ्य सेवा अपेक्षा गर्न नसकिने धारणा पनि राखेका छन्।

    आन्दोलनरत पक्षले सरकारले आफ्ना मागप्रति गम्भीरता नदेखाए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी दिएको छ। उनीहरूले संवादमार्फत समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्दै नर्सिङ क्षेत्रका वास्तविक समस्या सम्बोधन गर्न ढिलाइ नगर्नसमेत अनुरोध गरेका छन्।

    नर्स ज्योति रानाभाटले सुरु गर्नुभएको आमरण अनशन पाँचौँ दिनमा पुग्दा पनि माग सम्बोधनका विषयमा ठोस प्रगति हुन नसकेको आन्दोलनरत पक्षको भनाइ छ। अनशनरत रानाभाटको स्वास्थ्य अवस्थाप्रति समेत उनीहरूले चासो व्यक्त गर्दै सरकारलाई शीघ्र वार्ता गरी उचित निष्कर्षमा पुग्न आग्रह गरेका छन्।

    नर्सहरूको आन्दोलनले पछिल्ला दिनमा स्वास्थ्य क्षेत्रमा श्रम अधिकार, पेशागत सम्मान तथा सेवा–सुविधाका विषयमा बहसलाई थप तीव्र बनाएको छ। आन्दोलनरत नर्सहरूले आफ्ना मागहरू सम्बोधन नहुँदासम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार